लायन्स क्लब अफ विराटनगर सोसलको नेतृत्वमा देवकीनन्दन अग्रवाल, सेवा अभियानलाई नयाँ गति दिने प्रतिबद्धता

Breaking Nepal

सोमबार ,साउन ४ , २०८३ ११:३१

विराटनगर / लायन्स क्लब अफ विराटनगर सोसलले लायन्स वर्ष २०२६–२०२७ का लागि नयाँ नेतृत्व चयन गर्दै सामाजिक सेवा, शिक्षा, स्वास्थ्य तथा समुदायमुखी कार्यक्रमलाई थप प्रभावकारी बनाउने लक्ष्य सार्वजनिक गरेको छ । क्लबले ३८ सदस्यीय नयाँ कार्यसमिति तथा बोर्ड अफ डाइरेक्टर घोषणा गर्दै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई परिणाममुखी ढंगले अघि बढाउने प्रतिबद्धता जनाएको हो ।

नयाँ कार्यसमितिको अध्यक्षमा समाजसेवी देवकीनन्दन अग्रवाल चयन भएका छन् । लामो समयदेखि विराटनगरमा सामाजिक, धार्मिक तथा मानवीय सेवामा सक्रिय अग्रवालले यसअघि पनि विभिन्न सामाजिक संस्थाको नेतृत्व सम्हाल्दै शिक्षा, स्वास्थ्य र राहतका क्षेत्रमा योगदान पुर्‍याएका छन् ।

नवनिर्वाचित अध्यक्ष अग्रवालले पदभार ग्रहणपछि क्लबको आगामी कार्यदिशा प्रस्तुत गर्दै सेवा नै लायन्सको मूल पहिचान भएको उल्लेख गरे । उनले आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका बालबालिकाको शिक्षामा सहयोग, छात्रवृत्ति कार्यक्रम विस्तार, स्वास्थ्य शिविर सञ्चालन, निःशुल्क उपचारमा सहजीकरण, रक्तदान, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सामाजिक सचेतनामूलक अभियानलाई प्राथमिकताका साथ अघि बढाइने बताए ।

‘लायन्स क्लब समाज परिवर्तनको माध्यम हो । समुदायको आवश्यकता पहिचान गरी शिक्षा, स्वास्थ्य र मानवीय सेवाका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्नु हाम्रो पहिलो दायित्व हुनेछ । सबै सदस्यको सहकार्यमा परिणाम देखिने सामाजिक अभियान सञ्चालन गर्नेछौं,’ अध्यक्ष अग्रवालले भने ।

कार्यक्रमका प्रमुख अतिथि तथा लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५–सी नेपालका गभर्नर लीलाप्रसाद चिमरियाले लायन्स क्लब अफ विराटनगर सोसलले सामाजिक सेवामा निरन्तर उदाहरणीय भूमिका निर्वाह गर्दै आएको बताए । उनले नयाँ नेतृत्वले सेवाको दायरालाई अझ फराकिलो बनाउँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे ।

‘लायन्सको शक्ति भनेकै निस्वार्थ सेवा हो । नयाँ नेतृत्वले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र मानवीय सेवाका क्षेत्रमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्दै समुदायसँगको सम्बन्ध अझ सुदृढ बनाउने विश्वास लिएको छु,’ गभर्नर चिमरियाले भने ।

घोषित कार्यसमितिअनुसार निवर्तमान अध्यक्षमा लीलाकुमार ढुंगेल, प्रथम उपाध्यक्षमा सुधीरकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा रोशन आचार्य तथा तृतीय उपाध्यक्षमा नोबिन ओझा चयन भएका छन् ।

क्लब सल्लाहकारमा जितेन्द्रप्रसाद साह र तारानाथ भट्टराई, सचिवमा प्रकाश शर्मा, कोषाध्यक्षमा रमेशप्रसाद न्यौपाने तथा संयुक्त सचिवमा सीताराम पोखरेल मनोनीत भएका छन् ।

त्यसैगरी प्रशासन प्रमुखमा मनीष शर्मा, एलसीआईएफ संयोजकमा मधुसुदन चौधरी, सदस्यता संयोजकमा विद्यानन्द माझी, सेवा संयोजकमा गणेशकुमार श्रेष्ठ, बजार व्यवस्थापन (मार्केटिङ) संयोजकमा राजन पौडेल, जनसम्पर्क अधिकृत (पीआरओ)मा रामबाबु कार्की, टेमरमा हरिप्रसाद गौतम तथा टेल ट्विस्टरमा हेमन्त शर्मा चयन भएका छन् ।

क्लबले मीना सुवेदी ढंगेल, शिवप्रसाद रिजाल, बिमल नेपाल, मोहनदास चौहान, कमलराज दाहाल, जोगेश्वर साह, माधवप्रसाद ढुंगेल, अब्धा किशोर साह, गोविन्दप्रसाद ढुंगेल, वीरेन्द्रराज भक्त नेपाली, अशोक जैसवाल, योग्याराज सेडाइ, राजु श्रेष्ठ, प्रदीप भगत र दिनेशकुमार साहलाई क्लब डाइरेक्टरको जिम्मेवारी दिएको छ । साथै सन्दीपकृष्ण श्रेष्ठ, रामबहादुर बुढाथोकी, प्रभु महतो, पुष्कल गिरी र सुरेशकुमार भट्टराई सदस्यमा चयन भएका छन् ।

कार्यक्रममा फर्स्ट डिस्ट्रिक्ट प्रथम उपाध्यक्ष रमेश खत्री, डिस्ट्रिक्ट कोषाध्यक्ष मीना ढुंगेल, निवर्तमान अध्यक्ष लीलाकुमार ढुंगेल तथा नेपाल पत्रकार महासंघ मोरङका अध्यक्ष सुशीला पाठकले शुभकामना व्यक्त गर्दै सामाजिक सेवामा संस्थाको भूमिका अझ सशक्त बनाउन नयाँ नेतृत्वलाई सुझाव दिएका थिए ।

लायन्स क्लब अफ विराटनगर सोसलले आगामी कार्यकालमा समुदायको आवश्यकता केन्द्रित कार्यक्रम, युवा सहभागिता अभिवृद्धि, सदस्य विस्तार, स्वास्थ्य तथा शिक्षा सहयोग, वातावरण संरक्षण, विपद् राहत र मानवीय सेवाका अभियानलाई संस्थागत रूपमा अघि बढाउने जनाएको छ। नयाँ नेतृत्वसँगै क्लबले विराटनगर र आसपासका क्षेत्रमा सामाजिक सेवाको प्रभावकारिता अझ विस्तार गर्ने अपेक्षा गरिएको छ ।

सो अवसरमा क्लबका निवर्तमान अध्यक्ष लीला ढुंगेललाई सम्मानसमेत गरिएको थियो ।