करेलाखेतीबाट सम्सीका महिलाको आर्थिक रूपान्तरण

Breaking Nepal

सोमबार ,साउन ४ , २०८३ १२:२५

जनकपुरधाम : महोत्तरीको सम्सी गाउँपालिकाका महिलाले व्यावसायिक करेलाखेतीमार्फत आयआर्जनको नयाँ आधार निर्माण गरेका छन्। सामूहिक खेती, आधुनिक प्रविधि र बजारमुखी उत्पादनका कारण उनीहरू आत्मनिर्भर बन्दै सफल कृषक–उद्यमीका रूपमा स्थापित हुन थालेका छन्।

सम्सीका विभिन्न महिला समूहले उत्पादन गरेको करेला जनकपुर, जलेश्वर, गौशाला, बर्दिबासलगायत बजारमा बिक्री हुँदै आएको छ। नियमित आम्दानी बढेपछि धेरै महिलाले खेतीको क्षेत्रसमेत विस्तार गरेका छन्।

विश्व बैंक र विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको सहयोगमा सञ्चालित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना (फ्यानसेप नेपाल) अन्तर्गत महिलाले उन्नत बीउ, कृषि सामग्री, प्राविधिक तालिम र अनुदान प्राप्त गरेका छन्। यसले उत्पादन र गुणस्तर दुवैमा सुधार आएको किसानको भनाइ छ।

यद्यपि बीउ, मल र विषादीको बढ्दो लागत, बजार मूल्यको उतारचढाव, रोग–कीरा तथा शीतभण्डारणको अभाव भने अझै किसानका प्रमुख चुनौतीका रूपमा रहेका छन्।