Breaking Nepal

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई शिक्षकसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विद्यालयका सवारी चालक सुन्दरहरैँचा–१० का ४० वर्षीय प्रदीप भट्टराई तथा शिक्षक सुन्दरहरैँचा–२ का ३० वर्षीय किशोरलाल गच्छदार र सुन्दरहरैँचा–१२ का ३५ वर्षीय अबिरल मास्के रहेका छन्।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार तीनै जनालाई सोमबार बिहान करिब १० बजे नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरिएको हो।
प्रहरीका अनुसार विद्यालयका केही छात्रालाई मोबाइलमार्फत व्यक्तिगत सन्देश पठाउने, परीक्षामा उत्तीर्ण गराइदिने आश्वासन दिने तथा अमर्यादित व्यवहार गरेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। घटनामा यौनजन्य दुर्व्यवहारको आशंकासमेत रहेकाले प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको छ।
घटनापछि विद्यालयका विद्यार्थी तथा अभिभावक आक्रोशित बनेका छन्। उनीहरूले दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै विरोधको तयारी गरेका थिए।
यसैबीच, सुन्दरहरैँचा नगरपालिकाले घटनालाई गम्भीर रूपमा लिँदै आरोप लागेका शिक्षक तथा कर्मचारीलाई तत्काल निलम्बन गरी कानुनी प्रक्रिया अघि बढाउन विद्यालयलाई निर्देशन दिएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले विद्यालयलाई पत्राचार गर्दै सार्वजनिक भएका आरोपको आवश्यक छानबिन गरी दोषी देखिएकामाथि कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्न निर्देशन दिएका हुन्। कारबाहीको प्रगति विवरण नगरपालिकामा उपलब्ध गराउनसमेत भनिएको छ।
प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको जनाएको छ। अनुसन्धानबाट थप व्यक्ति संलग्न रहेको पुष्टि भए कानुनअनुसार कारबाही गरिने डीएसपी मिश्रले बताए। प्रहरीले अनुसन्धान प्रभावित हुने गरी भ्रामक सूचना तथा टिप्पणी नगर्न आग्रह गरेको छ।
© 2026 Breaking Nepal. All Rights Reserved | Powered By: InDesign Media Pvt. Ltd.






