विराटनगरमा विश्व बजार लक्षित नेपाली कृषि उत्पादनमा मूल्य सिर्जनाको नयाँ बहस

Breaking Nepal

सोमबार ,साउन ४ , २०८३ १४:०८

विराटनगर / नेपाली चियाले अन्तर्राष्ट्रिय बजारमा क्रमशः आफ्नो पहिचान स्थापित गरिरहेका बेला अब अलैंची, अदुवा लगायत उच्च मूल्यका विशेष कृषि उत्पादनलाई पनि विश्व ब्रान्डका रूपमा विकास गर्नुपर्नेमा निजी क्षेत्रका प्रतिनिधि, कृषि उद्यमी तथा विज्ञहरूले जोड दिएका छन् । उनीहरूले प्रविधिको प्रयोग, गुणस्तर व्यवस्थापन, मूल्य अभिवृद्धि, ब्रान्ड निर्माण र अन्तर्राष्ट्रिय साझेदारीलाई सुदृढ बनाउन सके नेपालको कृषि व्यवसायले विश्व मूल्य शृंखलामा बलियो स्थान बनाउन सक्ने धारणा व्यक्त गरेका हुन् ।

नेपालस्थित अमेरिकी दूतावासको सहयोगमा आद्यन्त एडभाइजरी र इन्टरनेशनल डेभलपमेन्ट इन्स्टिच्युट (आईडीआई) र आद्यन्त एडभाइजरीले एमच्याम नेपाल तथा ग्लोबल इम्प्याक्ट कलेक्टिभसँगको सहकार्यमा सोमबार विराटनगरमा आयोजना गरेको ‘प्रमुख कार्यकारी अधिकृत (सिइओ) संवाद शृंखला’ को चौथो तथा अन्तिम संस्करणमा सहभागी वक्ताहरूले नेपालले अब कच्चा कृषि उत्पादन निर्यातमा मात्र सीमित नरही मूल्य सिर्जना गर्ने रणनीतिमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

‘विश्वव्यापी मूल्य सिर्जना स् प्रविधि, साझेदारी र नेपालको चिया तथा विशेष कृषि व्यवसायको भविष्य’ विषयक कार्यक्रममा व्यवसायी, कृषि उद्यमी, लगानीकर्ता, नीतिनिर्माता तथा विकास साझेदारबीच चिया र विशेष कृषि उत्पादनको प्रतिस्पर्धात्मक क्षमता, लगानी, प्रविधि, ब्रान्डिङ तथा अन्तर्राष्ट्रिय बजार विस्तारका विषयमा विस्तृत छलफल भएको थियो ।

नेपाल टी कलेक्टिभका सहसंस्थापक तथा निर्देशक अमिगो खड्काले विश्व बजारमा प्रतिस्पर्धा गर्न गुणस्तरीय उत्पादन मात्र पर्याप्त नहुने बताए । उनका अनुसार उत्पादनसँगै ब्रान्ड, उत्पादनको कथा, उत्पादनको स्रोत पहिचान गर्न सकिने प्रणाली (ट्रेसबिलिटी) र उपभोक्ताको विश्वासले नै वस्तुको वास्तविक मूल्य निर्धारण गर्छ ।

उनले नेपालले चियामार्फत हासिल गरिरहेको अन्तर्राष्ट्रिय पहिचानलाई अब अलैंची, अदुवा तथा अन्य विशेष कृषि उत्पादनमा विस्तार गर्नुपर्ने बताए । कच्चा पदार्थ निर्यात गर्ने पुरानो अभ्यासबाट माथि उठेर प्रशोधन, मूल्य अभिवृद्धि, आधुनिक आपूर्ति शृंखला, उत्पादनको स्रोत पहिचान गर्न सकिने डिजिटल प्रणाली तथा अन्तर्राष्ट्रिय बजार लक्षित ब्रान्ड विकासमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

खड्काले नेपाल टी कलेक्टिभले नेपाली चिया किसानलाई प्रिमियम अन्तर्राष्ट्रिय बजारसँग जोड्दै प्रविधि, बजारसम्बन्धी ज्ञान तथा रणनीतिक साझेदारीमार्फत थप मूल्य सिर्जना गरेको अनुभव पनि साझा गरे ।

ग्लोबल इम्प्याक्ट कलेक्टिभका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेम्स बर्नालले कृषि क्षेत्रको दीर्घकालीन रूपान्तरणका लागि वित्तीय नवप्रवर्तन, निजी क्षेत्रको लगानी र अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको बताए ।

विश्वका ५० भन्दा बढी मुलुकमा काम गरेको अनुभव सुनाउँदै उनले साना किसानलाई पूँजी, प्रविधि र बजारसँग प्रभावकारी रूपमा जोड्न सके कृषि व्यवसायले उल्लेखनीय आर्थिक परिवर्तन ल्याउन सक्ने बताए । उनले ‘वन एकर फन्ड’ मोडललाई उदाहरणका रूपमा प्रस्तुत गर्दै त्यस्ता अभ्यास नेपालका चिया, अलैंची र अदुवाको मूल्य शृंखलामा पनि लागू गर्न सकिने धारणा राखे ।

आईडीआईका निर्देशक रोशन घिमिरेले नेपाल अब उत्पादनमात्र गर्ने देश नभई विश्व बजारमा मूल्य सिर्जना गर्ने मुलुकका रूपमा स्थापित हुनुपर्ने बताए ।

उनका अनुसार प्रविधि, नवप्रवर्तन, गुणस्तर र अन्तर्राष्ट्रिय साझेदारीको प्रभावकारी उपयोगमार्फत नेपाली चिया तथा विशेष कृषि उत्पादनलाई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन सकिने अवस्था रहेको छ । विश्व बजारमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि निजी क्षेत्रबीचको सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा पनि उनले जोड दिए ।

घिमिरेले नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रमुख कार्यकारी अधिकृत संवाद शृंखला सञ्चालन गरिएको जानकारी दिए । यस्ता संवादले उद्यमी, लगानीकर्ता र नीतिनिर्माताबीच सहकार्य विस्तार गर्नुका साथै नयाँ लगानी, साझेदारी र व्यवसायिक अवसर सिर्जना गर्न सहयोग पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा सहभागीहरूले नेपाली चियाले जापान, अमेरिका, युरोप तथा मध्यपूर्वका प्रिमियम बजारमा क्रमशः बलियो पहिचान बनाइरहेको उल्लेख गर्दै अब अलैंची, अदुवा लगायत उच्च मूल्यका कृषि उत्पादनलाई पनि समान स्तरको गुणस्तर, ब्रान्डिङ र बजार रणनीतिसहित अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याए ।

छलफलका क्रममा कमजोर आपूर्ति शृंखला, प्रशोधन प्रविधिको अभाव, गुणस्तरीय पूर्वाधारमा सीमित पहुँच, वित्तीय स्रोतको कठिन उपलब्धता तथा उत्पादक र बजारबीचको कमजोर सम्बन्धलाई नेपालको कृषि व्यवसाय विस्तारका प्रमुख चुनौतीका रूपमा पहिचान गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा सहभागीहरूबीच अन्तरक्रियात्मक छलफल तथा सञ्जाल विस्तार सत्र सम्पन्न भएको थियो । कार्यक्रममा उठेका सुझाव र निष्कर्षलाई समेटेर नेपालको कृषि क्षेत्रमा प्रविधि, लगानी र साझेदारीका प्राथमिकता निर्धारण गर्ने उद्देश्यसहित ‘प्रमुख कार्यकारी अधिकृतका अन्तर्दृष्टि संक्षेप’ तयार गरिने आयोजकले जनाएको छ ।