देवानगञ्ज घटनापछि गृहको कडा कदम, सिडिओदेखि डीआईजीसम्म हेरफेर

Breaking Nepal

सोमबार ,साउन ११ , २०८३ १८:३४

विराटनगर / सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक झडपपछि गृह मन्त्रालयले जिल्लाको प्रशासनिक तथा सुरक्षा नेतृत्वमा व्यापक हेरफेर गरेको छ । घटनापछि सुरक्षा व्यवस्थापन र प्रशासनिक समन्वयलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिम्मेवार अधिकारीसम्मको सरुवा गरिएको हो ।

गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई मन्त्रालय फिर्ता बोलाएको छ । उनको स्थानमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्याललाई सुनसरीको जिम्मेवारी दिइएको छ ।

नेपाल प्रहरीतर्फ कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानिएको छ । उनको स्थानमा प्रहरी नायब महानिरीक्षक शेखर खनाललाई जिम्मेवारी दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव थेवेलाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा सरुवा गरिएको छ । उनको स्थानमा प्रहरी उपरीक्षक पुष्पराज मल्ललाई खटाइएको छ ।

सशस्त्र प्रहरी बलतर्फ कप्तानगञ्जस्थित गणका प्रहरी नायब उपरीक्षक नन्दकिशोर महतोलाई फिर्ता बोलाइएको छ । उनको स्थानमा प्रहरी नायब उपरीक्षक मदन नाथलाई पठाइएको मन्त्रालयले जनाएको छ ।

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपमा एक जनाको मृत्यु भएको थियो । घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ९ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र ५ जना सशस्त्र प्रहरी रहेका छन् ।

घटनाको कारण, सुरक्षा व्यवस्थापन तथा समग्र परिस्थितिबारे अध्ययन गर्न गृह मन्त्रालयले सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिलाई सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।

यसैबीच, थप तनाव फैलिन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहान ७ बजेदेखि देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अर्को सूचना जारी नभएसम्म लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको छ । सुरक्षा निकायले प्रभावित क्षेत्रमा निगरानी र गस्तीलाई थप कडा बनाएको जनाएको छ ।