विराटनगरमा ३६ करोड लगानीको आँखा अस्पताल सञ्चालनमा

Breaking Nepal

सोमबार ,साउन ११ , २०८३ १६:४२

विराटनगर । मोरङको विराटनगरमा ३६ करोड रुपैयाँको लगानीमा निर्माण गरिएको ईफराह आँखा अस्पताल सञ्चालनमा आएको छ। निजी क्षेत्रको लगानी र बैंकिङ वित्तपोषणमा निर्माण भएको अस्पतालले सोमबारदेखि औपचारिक रूपमा सेवा सुरु गरेको हो।

अस्पतालमा गरिएको कुल लगानीमध्ये २६ करोड रुपैयाँ कृषि विकास बैंकको कर्जा रहेको छ भने बाँकी १० करोड रुपैयाँ अस्पतालका सञ्चालक मो. जाकिर हुसेन र उनका दाजुभाइको स्वलगानी रहेको अस्पताल व्यवस्थापनले जनाएको छ।

विराटनगर महानगरपालिका–१५, मलाया रोडमा रहेको अस्पतालको उद्घाटन कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बु, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला तथा अस्पतालका अध्यक्ष मो. जाकिर हुसेनले संयुक्त रूपमा गरेका छन्।

अस्पतालले प्रारम्भिक चरणमा दैनिक करिब ५० जना आँखाका बिरामीलाई उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ। सेवा विस्तारसँगै बिरामीको चाप र आवश्यकताअनुसार क्षमता वृद्धि गर्दै लैजाने योजना अस्पतालको रहेको छ।

निजी क्षेत्रको नयाँ लगानीसँगै विराटनगरमा विशिष्टीकृत आँखा उपचार सेवाको पहुँच विस्तार हुने अपेक्षा गरिएको छ। यसले स्थानीय बासिन्दासँगै पूर्वी नेपालका अन्य जिल्लाका बिरामीलाई पनि सहज उपचार सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास गरिएको छ।