८० महिनापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग, सुरुमा अत्यावश्यक सवारीलाई मात्रै अनुमति

Breaking Nepal

सोमबार ,साउन ११ , २०८३ १३:११

काठमाडौं / करिब ८० महिनापछि नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानी राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरेका हुन् ।

यद्यपि, सुरुङमार्ग तत्काल सबै प्रकारका सवारीसाधनका लागि खुला गरिने छैन । आयोजना कार्यालयका अनुसार प्रारम्भिक चरणमा एम्बुलेन्स, दमकल, सुरक्षा निकाय तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै सञ्चालनको अनुमति दिइएको छ ।

आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार करिब तीन महिनासम्म परीक्षण सञ्चालन गरिनेछ । यस अवधिमा सुरक्षाको अवस्था, ट्राफिक व्यवस्थापन तथा सञ्चालन प्रणालीको मूल्यांकन गरिनेछ । त्यसपछि मात्रै अन्य सवारीसाधनलाई चरणबद्ध रूपमा प्रवेश अनुमति दिइने योजना छ ।

परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिने निर्णय गरिएको छ । नियमित सञ्चालन सुरु भएपछि भने सवारीको वर्गअनुसार सेवा शुल्क लागू हुनेछ ।

सडक विभागले निर्धारण गरेको शुल्कअनुसार कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । मिनीबस, ट्रक तथा टिपरका लागि काठमाडौं प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको छ । बस तथा ठूला ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ । यसअघि मन्त्रिपरिषद्ले सवारीसाधनको प्रकृतिअनुसार ६० रुपैयाँदेखि ६०० रुपैयाँसम्म शुल्क निर्धारण गरिसकेको छ ।

सुरुङमार्गमा पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे सवारीसाधन तथा डिजेल, पेट्रोल, ग्यासलगायत प्रज्ज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई प्रवेश निषेध गरिएको छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु हुने सुरुङमार्ग धादिङको धुनिबेँसी नगरपालिकास्थित सिस्नेखोलासम्म पुग्छ । यो मार्ग सञ्चालनमा आएपछि नागढुङ्गा सडकखण्डको घुमाउरो बाटो, तीव्र उकालो र नियमित ट्राफिक जामबाट यात्रुले राहत पाउने अपेक्षा गरिएको छ । यसले यात्राको समय करिब एक घण्टासम्म घटाउने अनुमान गरिएको छ ।

सुरुङमार्ग निर्माणमा नेपाल सरकार र जापान सरकारको सहुलियतपूर्ण ऋणमार्फत करिब २५ अर्ब रुपैयाँ लगानी भएको छ । आयोजनाअनुसार निर्माण कार्यमा करिब १७ अर्ब रुपैयाँ खर्च भएको छ । विनिमय दर तथा निर्माण सामग्रीको मूल्यवृद्धिका कारण थप दुई अर्ब रुपैयाँ व्यय भएको छ । जग्गा अधिग्रहण र मुआब्जामा करिब ६ अर्ब रुपैयाँ खर्च गरिएको छ । आयोजना कार्यान्वयनका लागि ४८० रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

निर्माण कार्य ४२ महिनाभित्र सम्पन्न गर्ने प्रारम्भिक लक्ष्य रहे पनि कोभिड–१९ महामारी, आपूर्ति व्यवस्थामा आएको अवरोध तथा प्राविधिक जटिलताका कारण आयोजना निर्धारित समयभन्दा धेरै ढिलो सम्पन्न भएको हो ।

सुरुङमार्गको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । मुख्य सुरुङको ‘ब्रेकथ्रु’ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा गरिएको थियो । अहिले सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा आएको छ ।