Breaking Nepal

विराटनगर / सुनसरीको देवानगञ्ज गाउँपालिकाले प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनापछि दुई दिन शोक बिदा घोषणा गरेको छ। गाउँपालिकाले सोमबार र मंगलबार (साउन ११ र १२) सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थामा शोक बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले जारी गरेको सूचनाअनुसार देवानगञ्ज–३, कप्तानगञ्जका २४ वर्षीय ओमप्रकाश मेहताको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै गाउँपालिकाभर शोक बिदा दिइएको हो ।
आइतबार राति देवानगञ्ज–३ को कप्तानगन्ज क्षेत्रमा दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा मेहताको मृत्यु भएको थियो। घटनामा प्रहरी र सर्वसाधारण गरी अन्य व्यक्तिहरू पनि घाइते भएका छन् ।
घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले दक्षिणी क्षेत्रका पाँच स्थानमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनका अनुसार कर्फ्यु सोमबार बिहान ७ बजेदेखि लागू गरिएको हो ।
जिल्ला प्रशासनले सर्वसाधारणलाई कर्फ्यु आदेशको पूर्ण पालना गर्न आग्रह गर्दै शान्ति–सुरक्षा कायम राख्न सुरक्षा व्यवस्था थप कडा पारिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।