Breaking Nepal

काठमाडौं / सुनसरीको देवानगञ्जमा सुरक्षाकर्मीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरेको छ ।
मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा समिति गठन गरेको हो। समितिलाई घटनाको सत्यतथ्य अध्ययन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको मन्त्रालयका प्रवक्ता अनन्त काफ्लेले जानकारी दिए ।
घटनापछि सोमबार बिहान गृहमन्त्री सुधन गुरुङले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका महानिरीक्षक नारायणदत्त पौडेललाई सिंहदरबार बोलाएर घटनाबारे जानकारी लिएका छन् । घटनाको अवस्थाबारे सुरक्षा नेतृत्वसँग विस्तृत छलफल गरिएको स्रोतले जनाएको छ ।
आइतबार राति सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्ज क्षेत्रमा दुई समूहबीच उत्पन्न तनाव नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरिएको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा दुवै सुरक्षा निकायबाट गोली प्रहार भएको प्रारम्भिक विवरणमा उल्लेख छ ।
गोली लागेर स्थानीय २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा अन्य केही व्यक्ति घाइते भएका छन्। घाइतेहरूको उपचार भइरहेको बताइएको छ ।
प्रहरीका अनुसार सोमबारको बोलबम यात्राका लागि डिजेसहित निस्किएको समूह र स्थानीयवासीबीच विवाद चर्किएपछि झडप भएको थियो। त्यसपछि उत्पन्न अवस्था नियन्त्रणबाहिर जान थालेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेका थिए ।
गृह मन्त्रालयले घटनाको वास्तविक कारण, सुरक्षा निकायको भूमिका र गोली चलाउनुपरेको परिस्थितिबारे विस्तृत अध्ययन गरी प्रतिवेदनका आधारमा आवश्यक निर्णय लिइने जनाएको छ ।