कर्फ्युबीच पनि कप्तानगञ्जमा प्रदर्शन, सेनाको गस्ती सुरु

Breaking Nepal

सोमबार ,साउन ११ , २०८३ १२:५७

सुनसरी / सुनसरीको देवानगञ्ज गाउँपालिका–३ अन्तर्गत कप्तानगञ्जमा कर्फ्यु आदेश लागू रहे पनि स्थानीयले प्रदर्शनलाई निरन्तरता दिएका छन् । अवस्था थप तनावपूर्ण बन्दै गएपछि नेपाली सेनाले बख्तरबन्द गाडीसहित क्षेत्रमा गस्ती सुरु गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले देवानगञ्जसहित पाँच क्षेत्रमा बेलुका ७ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । तर स्थानीयले आदेशको बेवास्ता गर्दै बिहानैदेखि सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन् ।

सुरक्षाकर्मीको बाक्लो परिचालनका बीच प्रदर्शन जारी रहेको प्रहरीले जनाएको छ । प्रदर्शनका क्रममा टायर बालिएको छ । एउटा फार्मेसी, तीनवटा किराना पसल र एउटा मोटरसाइकल ग्यारेजमा तोडफोड गरिएको प्रहरीको भनाइ छ ।

आइतबार बेलुका दुई पक्षबीच झडप भएपछि सुरक्षा अवस्था असामान्य बनेको थियो । त्यसक्रममा सुरक्षाकर्मीले भीड नियन्त्रणका लागि बल प्रयोग तथा फायरिङ गरेका थिए । उक्त घटनामा एकजनाको मृत्यु भएको थियो । आठजना स्थानीय घाइते भएका थिए ।

घटनापछि क्षेत्रमा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । सम्भावित अप्रिय घटना रोक्न नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त परिचालन जारी रहेको छ ।