प्रलोभनमा पारेर बालिकामाथि करणी गरेको आरोप, पाँचविरुद्ध अनुसन्धान

Breaking Nepal

सोमबार ,साउन ११ , २०८३ १३:०१

विराटनगर / मोरङ प्रहरीले एक बालिकामाथि जबरजस्ती करणी तथा सामूहिक जबरजस्ती करणी गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। घटनासम्बन्धी उजुरी दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार साउन ३ गते बिहान करिब ९ बजे सुनवर्षी नगरपालिका निवासी बालिकालाई रंगेली नगरपालिका–३ का १८ वर्षीय मोहम्मद अरमानले विभिन्न प्रलोभन देखाएर रंगेली–७ स्थित युमी क्याफेमा लगेका थिए। त्यहाँ बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेको छ।

उक्त घटनापछि सोही क्याफेका सञ्चालक सुनवर्षी नगरपालिका–९ का २१ वर्षीय सुमनकुमार साहले पनि बालिकामाथि जबरजस्ती करणी गरेको आरोप लागेको प्रहरीले जनाएको छ।

यस्तै, साउन ४ गते राति करिब ९ बजे रंगेली नगरपालिका–७ का २० वर्षीय करण मण्डलले बालिकालाई रंगेली–७ स्थित संसारी मन्दिर नजिक रहेको ‘द ९०स् क्याफे’मा लगेको उजुरीमा उल्लेख छ। त्यहाँ प्रियान्सु साह र रितिक यादवसँग मिलेर सामूहिक जबरजस्ती करणी गरेको आरोप लगाइएको प्रहरीले जनाएको छ।

उजुरीपछि प्रहरीले अनुसन्धान तीव्र बनाउँदै साउन १० गते अपराह्न करिब ४ः१० बजे मोहम्मद अरमान, सुमनकुमार साह, करण मण्डल, प्रियान्सु साह र रितिक यादवलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले घटनाका सबै पक्षमाथि अनुसन्धान जारी रहेको जनाएको छ।