Breaking Nepal

जनकपुर । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मधेश प्रदेशलाई साक्षर प्रदेश बनाउने लक्ष्यसहित सरकार तीव्र गतिमा अघि बढिरहेको बताएका छन्।
सोमबार जनकपुरधामस्थित संकटमोचन विद्यालयमा विद्यार्थीलाई खेलकुद सामग्री वितरणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले साक्षर प्रदेश निर्माणसम्बन्धी प्रतिवेदन प्रदेश सरकारलाई बुझाइसकिएको र त्यसअनुसार आवश्यक काम अघि बढिरहेको जानकारी दिए।
उनले प्रदेशका सम्बन्धित निकाय र कार्यालयसँग समन्वय गर्दै कार्यको प्रगति बुझ्ने क्रम जारी रहेको बताए।
मन्त्री पोखरेलले जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणमा देखिएका समस्या तथा सम्भावित निर्माणस्थलहरूको निरीक्षण गर्न लागेको जानकारी पनि दिए। विश्वविद्यालयका पदाधिकारीसँग छलफल भइसकेको र मुजेलिया तथा फूलगामास्थित जग्गाको स्थलगत निरीक्षण गर्ने कार्यक्रम रहेको उनले बताए।
शिक्षाको गुणस्तर सुधार र विश्वविद्यालयको पूर्वाधार विकासमा सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले संकटमोचन विद्यालयका विद्यार्थीलाई क्रिकेट ब्याट, फुटबल तथा ब्याडमिन्टन र्याकेट हस्तान्तरण गरे। साथै विद्यालयमा छिट्टै खेल प्रशिक्षक उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थीसँग मैत्रीपूर्ण रूपमा क्रिकेटसमेत खेले।