Breaking Nepal

विराटनगर / कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तनको चर्चा तीव्र भइरहेका बेला मुख्यमन्त्री हिक्मत कार्कीले संस्थागत निर्णयबिनाको राजीनामा स्वीकार्य नहुने अडान लिएका छन् । एमाले र नेकपाबीच प्रदेश सरकारको नयाँ सत्ता समीकरणबारे सहमति बनेसँगै नेतृत्व परिवर्तनको तयारी अघि बढे पनि कार्की तत्काल पद छाड्ने पक्षमा देखिएका छैनन् ।
एमालेले कांग्रेससँगको सहकार्य अन्त्य गरेपछि सातै प्रदेशमा नयाँ राजनीतिक समीकरण निर्माण गर्ने रणनीति अघि सारेको छ । सोही रणनीतिअनुसार कोशी प्रदेशमा पनि एमालेकै नेतृत्व कायम राख्ने सहमति भएको जनाइएको छ ।
पार्टीभित्र भने मुख्यमन्त्री परिवर्तनबारे छलफल तीव्र बनेको छ । प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई नयाँ मुख्यमन्त्री बनाउने विषयमा शीर्ष तहमा छलफल भइरहेको स्रोतको दाबी छ । ताप्लेजुङ–१ (क) बाट निर्वाचित मेन्याङ्बोलाई नेतृत्वमा ल्याएर प्रदेश संगठनमा नयाँ सन्तुलन कायम गर्ने तयारी भइरहेको बताइन्छ ।
यद्यपि कार्कीले आफू संविधानको धारा १६८ को उपधारा (५) बमोजिम बहुमत सदस्यहरूको समर्थनमा मुख्यमन्त्री बनेकाले सामान्य राजनीतिक निर्णयका आधारमा पद त्याग गर्न नमिल्ने तर्क गरेका छन् । यस्तो अवस्थामा राजीनामाले प्रदेशको राजनीतिक तथा संवैधानिक प्रक्रियामा जटिलता उत्पन्न हुन सक्ने उनको बुझाइ छ ।
उपधारा (५) अन्तर्गत बनेको सरकारलाई विश्वासको मत दिने क्रममा दलीय ह्वीप लागू नहुने सर्वोच्च अदालतको व्याख्यालाई समेत ध्यान दिनुपर्ने कार्कीको धारणा रहेको निकट स्रोतको भनाइ छ ।
स्रोतका अनुसार कार्कीले केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा पनि यही विषय उठाएका थिए । तर पार्टी नेतृत्व भने प्रदेश सरकारमा नेतृत्व परिवर्तन गर्ने तयारीबाट पछि नहटेको बताइएको छ ।
एमालेभित्र नेतृत्व परिवर्तनलाई संगठनात्मक पुनर्संरचना र आन्तरिक शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ । पछिल्लो राजनीतिक घटनाक्रमपछि प्रदेश नेतृत्वमा नयाँ अनुहार ल्याउने पक्षमा शीर्ष नेतृत्व सक्रिय रहेको स्रोतको दाबी छ ।
कार्कीले भने मुख्यमन्त्री परिवर्तन आवश्यक ठहरिए पार्टीको औपचारिक र संस्थागत निर्णयबाट मात्रै अघि बढ्नुपर्ने धारणा राखेका छन् । व्यक्तिगत निर्देशनका आधारमा राजीनामा नदिने स्पष्ट संकेत उनले दिएका छन् ।
सञ्चारकर्मीसँगको कुराकानीमा पनि कार्कीले आफू अझै मुख्यमन्त्रीकै जिम्मेवारीमा रहेको र पार्टीको सक्षम निकायले आवश्यक निर्णय गरेपछि मात्रै त्यसअनुसार अघि बढ्ने बताएका छन् ।
कोशी प्रदेश सभामा ९३ सदस्य छन् । एमालेसँग ४०, कांग्रेससँग २९, नेकपासँग १७, राप्रपासँग ५ र जसपासँग १ सदस्य छन् । एमाले र नेकपाको सम्भावित सहकार्यले प्रदेश सरकार गठनका लागि स्पष्ट बहुमत पुग्ने अवस्था बनेको छ ।