Breaking Nepal

विराटनगर / पूर्वी नेपालको औद्योगिक तथा लगानी वातावरणलाई अन्तर्राष्ट्रिय तहमा परिचित गराउने उद्देश्यसहित अमेरिकी विद्यार्थीहरूको प्रतिनिधिमण्डल र उद्योग संगठन मोरङबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
लिबर्टी इन्टरनेशनल कार्यक्रमअन्तर्गत नेपाल भ्रमणमा रहेका अमेरिकी विद्यार्थीहरूले उद्योग संगठन मोरङका पदाधिकारीसँग भेट गर्दै पूर्वी नेपालको अर्थतन्त्र, औद्योगिक विकास, निजी क्षेत्रको अवस्था तथा लगानीका सम्भावनाबारे छलफल गरेका हुन् ।
कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले पूर्वी नेपाल उद्योग, व्यापार र लगानीका हिसाबले उच्च सम्भावना भएको क्षेत्र भए पनि त्यसको प्रभावकारी उपयोगका लागि स्थिर, स्पष्ट र लगानीमैत्री नीतिगत वातावरण आवश्यक रहेको बताए । निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य थप प्रभावकारी हुनुपर्ने उनको भनाइ थियो ।
संगठनका निवर्तमान अध्यक्ष राकेश सुरानाले पूर्वी नेपालको औद्योगिक आधार, उत्पादन क्षमता तथा निर्यात विस्तारका सम्भावनाबारे जानकारी दिँदै उद्योगी–व्यवसायीले भोगिरहेका संरचनागत तथा नीतिगत समस्याको समाधानबिना औद्योगिक विस्तारले अपेक्षित गति लिन नसक्ने बताए ।
लिबर्टी इन्टरनेशनलकी ट्रेनिङ लिड मार्या लोन्डनले नेपाल भ्रमणको उद्देश्य अमेरिकी विद्यार्थीलाई नेपाली समाज, संस्कृति, इतिहास र आर्थिक रूपान्तरणका विविध पक्षसँग प्रत्यक्ष रूपमा परिचित गराउनु रहेको बताइन् । स्थानीय उद्योगी तथा व्यवसायिक नेतृत्वसँगको संवादले विद्यार्थीलाई व्यवहारिक सिकाइको अवसर प्रदान गर्ने उनको भनाइ थियो ।
संगठनका उपाध्यक्ष विपिन कावराले यस्ता अन्तर्राष्ट्रिय भ्रमणले नेपालप्रतिको सकारात्मक बुझाइ विस्तार गर्नुका साथै व्यापार, लगानी, अनुसन्धान र शैक्षिक सहकार्यका नयाँ सम्भावना सिर्जना गर्न सहयोग पुग्ने बताए ।
विकल्प एन अल्टरनेटिभका कार्यकारी निर्देशक वसन्त अधिकारीले नेपाल र अन्तर्राष्ट्रिय शैक्षिक संस्थाबीच ज्ञान, अनुभव तथा सांस्कृतिक आदान–प्रदान विस्तार गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
अन्तरक्रियाका क्रममा अमेरिकी विद्यार्थीहरूले नेपालको आर्थिक संरचना, निजी क्षेत्रको भूमिका, औद्योगिक विकासका चुनौती तथा लगानीका अवसरबारे उद्योग संगठनका पदाधिकारीसँग प्रत्यक्ष संवाद गर्दै जिज्ञासा राखेका थिए ।