Breaking Nepal

इटहरी / सामाजिक सेवामुखी संस्था ‘माया घर’ले आश्रितको संरक्षण र व्यवस्थापनका लागि आधुनिक सुविधा सम्पन्न नयाँ भवन पाएको छ । करिब १ करोड ७२ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भवन सोमबार औपचारिक रूपमा संस्थालाई हस्तान्तरण गरिएको हो ।
भवन निर्माणका लागि लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सीको पहलमा लायन्स क्लब इन्टरनेसनल फाउन्डेसन (एलसीआईएफ) बाट १ करोड ३८ लाख रुपैयाँको अनुदान प्राप्त भएको थियो । बाँकी लागत इटहरीका तीन लायन्स क्लब, माया घर तथा स्थानीय समुदायको सहकार्यबाट व्यवस्थापन गरिएको हो ।
तत्कालीन डिस्ट्रिक्ट गभर्नर विजयहरि शर्माको पहलमा परियोजनाले स्वीकृति पाएको थियो । २०८१ फागुन २४ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले शिलान्यास गरेको भवन करिब १८ महिनामा निर्माण सम्पन्न भएको हो ।
साढे तीन तले भवनमा १५ वटा आवासीय कोठा रहेका छन् । प्रत्येक तलामा पाँच वटा कोठा, तीन–तीनवटा स्नानगृह तथा एक कोठामा तीन वटासम्म पलङ राख्न मिल्ने व्यवस्था गरिएको छ । नयाँ संरचनाले आश्रितलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक बसोबासको वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ ।
भवन हस्तान्तरण कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नर तथा ग्रान्ट एड्मिनिस्ट्रेटर विजयहरि शर्माले निर्धारित समयभित्र परियोजना सम्पन्न हुनु सामाजिक उत्तरदायित्व र मानवीय सेवाको सफल उदाहरण भएको बताए । अन्तर्राष्ट्रिय सहयोग र स्थानीय सहभागिताको संयोजनले परियोजना प्रभावकारी रूपमा सम्पन्न भएको उनको भनाइ थियो ।
लायन्स इन्टरनेसनलका अन्तर्राष्ट्रिय निर्देशक राजन लम्सालले माया घरको आवश्यकता प्रत्यक्ष अवलोकनपछि सुरक्षित र दीर्घकालीन पूर्वाधार निर्माण गर्ने निर्णय गरिएको बताए । सेवा विस्तारसँगै आश्रितको संख्या बढ्दै गएकाले नयाँ भवनले संस्थाको सेवा क्षमता थप सुदृढ बनाउने विश्वास उनले व्यक्त गरे ।
एलसीआईएफमार्फत परियोजना स्वीकृत गराउन विशेष पहल गरिएको उल्लेख गर्दै उनले विश्वभर लायन्स इन्टरनेसनलले प्रत्येक वर्ष ठूला मानवीय परियोजना सञ्चालन गर्दै आएको र नेपालमा मात्रै वार्षिक २७ देखि ४५ वटासम्म परियोजना कार्यान्वयन हुने जानकारी दिए । एउटा परियोजना सम्पन्न भएसँगै अर्को सामाजिक अभियान अघि बढाउने अभ्यासलाई संस्थाले निरन्तरता दिइरहेको उनले बताए ।
भवन निर्माण समितिका संयोजक पिताम्बर पोखरेलले नयाँ भवन अन्तर्राष्ट्रिय सहकार्य, स्थानीय प्रतिबद्धता र सामाजिक उत्तरदायित्वको साझा उपलब्धि भएको उल्लेख गरे । परियोजना सफल बनाउन सहयोग गर्ने सबै पक्षको योगदान महत्त्वपूर्ण रहेको उनले बताए ।
परियोजनाका अध्यक्ष राजन खत्रीले माया घरले २१ जना आश्रितबाट सेवा सुरु गरेको स्मरण गर्दै हाल १२६ जनालाई आश्रय र संरक्षण प्रदान गरिरहेको जानकारी दिए । संस्थाको स्थापनाकालदेखि आफूले निरन्तर सहकार्य गर्दै आएको उनले बताए ।
माया घरकी अध्यक्ष शुभद्रा प्याकुरेलले भवन निर्माणमा सहयोग पुर्याउने लायन्स इन्टरनेसनल, एलसीआईएफ, स्थानीय लायन्स क्लब तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरिन् । नयाँ भवनले आश्रितको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास उनले व्यक्त गरिन् ।
डिस्ट्रिक्ट गभर्नर लिला चिमरियाले माया घरजस्ता मानवीय संस्थाको संरक्षण, विकास र सेवा विस्तारमा लायन्सको साथ आगामी दिनमा पनि निरन्तर रहने प्रतिबद्धता जनाइन् ।
भवन हस्तान्तरण तथा उद्घाटन समारोहमा लायन्सका पूर्व डिस्ट्रिक्ट गभर्नर, भाइस डिस्ट्रिक्ट गभर्नर, विभिन्न लायन्स क्लबका पदाधिकारी, माया घरका प्रतिनिधि तथा स्थानीय समाजसेवीको उल्लेख्य उपस्थिति रहेको थियो ।