Breaking Nepal

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन निर्माण अभियानलाई तीव्र बनाउँदै आजदेखि देशभरका अधिकांश जिल्लामा जिल्ला अधिवेशन सुरु गर्ने भएको छ। पार्टीले स्थानीय तह र जिल्ला तहको संगठनात्मक संरचना सुदृढ गर्दै पहिलो महाधिवेशनको तयारीलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ।
रास्वपाले हालसम्म सबै ७७ जिल्लामा तदर्थ समिति गठन गरिसकेको छ। पछिल्लो पटक डोल्पामा तदर्थ समिति गठन भएसँगै जिल्ला संरचना विस्तारको प्रक्रिया पूरा भएको पार्टी स्रोतले जनाएको छ।
यद्यपि, गण्डकी प्रदेशका हिमाली जिल्ला मनाङ र मुस्ताङमा भने यसपटक जिल्ला अधिवेशन नहुने भएको छ। ती जिल्लामा वडा तथा पालिका तहको अधिवेशन सम्पन्न नभएकाले जिल्ला अधिवेशनको प्रक्रिया अघि नबढाइएको बताइएको छ।
पार्टीको संगठनात्मक कार्यविधिअनुसार कुनै जिल्लामा कम्तीमा ३० प्रतिशत पालिकाको अधिवेशन सम्पन्न भए जिल्ला अधिवेशन आयोजना गर्न सकिने व्यवस्था छ। सोही आधारमा अधिकांश जिल्लामा आज र भोलि अधिवेशन सञ्चालन गरिनेछ।
रास्वपाले सार्वजनिक गरेको कार्यतालिकाअनुसार जिल्ला अधिवेशनपछि जेठ २६ गतेदेखि असार १ गतेसम्म प्रदेश अधिवेशन सञ्चालन हुनेछ। त्यसपछि पार्टीको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना गर्ने तयारी गरिएको छ।
पार्टी नेतृत्वले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै संगठनात्मक संरचनालाई संस्थागत गर्ने लक्ष्य राखेको छ। जिल्ला र प्रदेश अधिवेशनलाई महाधिवेशनको आधारभूत तयारीका रूपमा हेरिएको छ।