मिथिला थालीका सञ्चालक सन्तोष साह ठगी आरोपमा पक्राउ, रेस्टुरेन्ट कारोबार विवाद अनुसन्धानमा

Breaking Nepal

शनिबार ,जेष्ठ ३० , २०८३ १३:०१

विराटनगर / चर्चित पाककला व्यवसायी तथा मिथिला थाली ब्रान्डका सञ्चालक सेफ सन्तोष साह ठगीसम्बन्धी आरोपमा पक्राउ परेका छन् । रेस्टुरेन्ट खरिद–बिक्रीसँग जोडिएको आर्थिक विवादका आधारमा उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार साहलाई धनुषाको जनकपुरस्थित रामानन्द चोक क्षेत्रबाट पक्राउ गरिएको हो । उनीमाथि रेस्टुरेन्ट कारोबारको बाँकी रकम भुक्तानी नगरेको आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार काठमाडौंमा बसोबास गर्दै आएकी व्यवसायी सकुन्तला थापाले साहविरुद्ध ठगीको जाहेरी दर्ता गरेकी थिइन् । उजुरीमा उनले दुई वर्षअघि आफ्नो रेस्टुरेन्ट बिक्री गरेबापतको ठूलो रकम अझै प्राप्त नभएको उल्लेख गरेकी छन् ।

थापाको दाबीअनुसार रेस्टुरेन्ट खरिदका क्रममा केही रकम भुक्तानी भए पनि एक करोड ५० लाख रुपैयाँभन्दा बढी रकम बाँकी रहेको छ । बाँकी रकम भुक्तानीका लागि पटक–पटक आग्रह गर्दा विभिन्न कारण देखाएर टार्ने गरिएको र अन्ततः दिएको चेकसमेत नसाटिएपछि कानुनी प्रक्रियामा जान बाध्य भएको उनको भनाइ छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा आर्थिक कारोबारसँग सम्बन्धित कागजात, चेक तथा अन्य प्रमाण संकलन गरिरहेको जनाएको छ । घटनाको प्रकृति र कारोबारको वास्तविक अवस्था खुलाउन थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।

पछिल्लो समय नेपाली पाककला क्षेत्रका चर्चित अनुहारका रूपमा परिचित साहले विभिन्न सहरमा मिथिला थाली विस्तार गरिरहेका थिए । केही समयअघि मात्रै विराटनगरमा पनि उक्त ब्रान्डको शाखा सञ्चालनमा ल्याइएको थियो । तर, व्यवसाय विस्तारकै क्रममा देखिएको आर्थिक विवादले अहिले कानुनी रूप लिएको छ ।

प्रहरीले अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।