प्रिन्सिपल र शिक्षकलाई विशेष अभिमुखीकरण, कक्षा ५ सम्मको परीक्षारहित मूल्यांकन कार्यान्वयनमा जोड

Breaking Nepal

शनिबार ,जेष्ठ ३० , २०८३ १३:२७

विराटनगर / विद्यालय शिक्षामा परम्परागत परीक्षामुखी प्रणालीको सट्टा निरन्तर तथा रचनात्मक मूल्यांकनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले विराटनगरमा विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरूका लागि विशेष कार्यशाला सम्पन्न गरिएको छ ।

प्याब्सन विराटनगरको आयोजनामा तथा टाइम्स पब्लिकेशनको प्राविधिक सहयोगमा आयोजित कार्यशालाले कक्षा ५ सम्म लागू हुन थालेको परीक्षारहित मूल्यांकन प्रणालीलाई व्यवहारिक रूपमा विद्यालयमा कार्यान्वयन गर्न आवश्यक नेतृत्व, व्यवस्थापन र शैक्षिक रणनीतिबारे छलफल केन्द्रित गरेको आयोजकले जनाएको छ ।

कार्यशालामा बोल्दै प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले विद्यालय शिक्षालाई केवल परीक्षाको नतिजामा सीमित नगरी विद्यार्थीको समग्र सिकाइ, सिर्जनशीलता, व्यवहारिक क्षमता र सहभागिताको आधारमा मूल्यांकन गर्ने अवधारणालाई बलियो बनाउन यस्तो कार्यक्रम आयोजना गरिएको बताए । उनका अनुसार नयाँ मूल्यांकन प्रणालीले बालबालिकामाथिको अनावश्यक मानसिक दबाब घटाउनुका साथै सिकाइ प्रक्रियालाई थप जीवनोपयोगी बनाउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा कक्षा ४ र ५ मा अध्यापनरत १९० भन्दा बढी शिक्षक सहभागी भएका थिए । उनीहरूलाई कक्षाकोठामा निरन्तर मूल्यांकन, विद्यार्थीको प्रगति अभिलेखीकरण, परियोजनामूलक सिकाइ तथा व्यवहारिक मूल्यांकनका विधिबारे प्रशिक्षण प्रदान गरिएको  थियो ।

आयोजकका अनुसार आइतबार कक्षा १ देखि ३ सम्म अध्यापन गराउने २०० भन्दा बढी शिक्षकलाई समेटेर अर्को चरणको कार्यशाला सञ्चालन गरिनेछ । प्रारम्भिक तहका शिक्षकहरूलाई बालमैत्री मूल्यांकन, सिकाइ उपलब्धि मापनका वैकल्पिक विधि तथा विद्यार्थीको व्यक्तिगत प्रगति पहिचान गर्ने प्रक्रियाबारे अभिमुखीकरण गराइने जनाइएको छ ।

तालिम संयोजक तथा प्याब्सन विराटनगरका उपाध्यक्ष अशोक लामाले नयाँ शैक्षिक नीतिको सफल कार्यान्वयनका लागि विद्यालय नेतृत्व र शिक्षक दुवै पक्षको क्षमता अभिवृद्धि अपरिहार्य रहेको बताए । उनका अनुसार मूल्यांकन प्रणालीमा आएको परिवर्तनलाई अवसरका रूपमा उपयोग गर्न सके विद्यालय शिक्षाको गुणस्तर सुधारमा उल्लेखनीय योगदान पुग्नेछ ।

कार्यशालामा प्रशिक्षक प्रदीप विष्टले सिकाइको गुणस्तर अभिवृद्धि, दक्षतामा आधारित मूल्यांकन तथा विद्यार्थी केन्द्रित शिक्षण अभ्यासबारे सहजीकरण गरेका थिए । उनले मूल्यांकनलाई केवल अंक प्रदान गर्ने प्रक्रियाका रूपमा नभई विद्यार्थीको सिकाइ सुधार गर्ने साधनका रूपमा बुझ्नुपर्ने धारणा राखे ।

कार्यक्रममा प्याब्सन कोशी प्रदेशका सल्लाहकार सुनिल पौडेल, कोषाध्यक्ष प्रेमलाल सिंह सुवाल, प्याब्सन मोरङका उपाध्यक्ष विष्णु डंगोललगायत शिक्षा क्षेत्रका सरोकारवालाको उपस्थिति रहेको थियो ।

शिक्षा क्षेत्रमा भइरहेका नीतिगत परिवर्तनसँगै विद्यालयहरूले मूल्यांकन प्रणालीलाई आधुनिक, समावेशी र विद्यार्थीमैत्री बनाउने दिशामा कदम चाल्न थालेका बेला विराटनगरमा आयोजित यो कार्यशालालाई निजी विद्यालयहरूको तयारी र क्षमता अभिवृद्धितर्फको महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।