Breaking Nepal

विराटनगर / महिलाको आर्थिक सशक्तीकरण र स्वरोजगार प्रवर्द्धनलाई केन्द्रमा राख्दै श्रीहरि सत्संग समिति नेपालले विराटनगरमा २४ जना महिलालाई सिलाई मेसिन हस्तान्तरण गरेको छ । सीपलाई आयआर्जनसँग जोड्ने उद्देश्यले आयोजित कार्यक्रममा विपन्न तथा आयआर्जनका अवसर खोजिरहेका महिलालाई लक्षित गरी सिलाई मेसिन वितरण गरिएको हो ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजमा आर्थिक रूपमा कमजोर तथा घरेलु जिम्मेवारीका कारण रोजगारीका अवसरबाट वञ्चित महिलालाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरियो । सहभागी महिलालाई प्रदान गरिएको सिलाई मेसिनले घरमै बसेर व्यवसाय सञ्चालन गर्ने तथा पारिवारिक आम्दानी बढाउने अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
श्रीहरि सत्संग समितिका अध्यक्ष भिखमचन्द सरलका अनुसार भारतको उत्तर प्रदेशस्थित शावली अञ्चल निवासी समाजसेवी दीपक जैनको सहयोगमा सिलाई मेसिन उपलब्ध गराइएको हो । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको सहयोगले महिला उद्यमशीलता विकासमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले स्थानीय तहले पनि सीपमूलक तालिम, उद्यम विकास तथा स्वरोजगार प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताए । उनले महिलालाई आर्थिक रूपमा सक्षम बनाउन सकिए परिवार र समाज दुवैको समृद्धिमा टेवा पुग्ने उल्लेख गर्दै सामाजिक संस्थाहरूले सञ्चालन गरिरहेका यस्ता अभियान प्रशंसनीय रहेको बताए ।
उनले पछिल्लो समय रोजगारीका अवसरको खोजीमा वैदेशिक पलायन बढिरहेका बेला सीपमा आधारित लघु उद्यम र घरेलु उद्योगको विकास आवश्यक रहेको धारणा राखे । सिलाई, बुनाइ, हस्तकला तथा घरेलु उत्पादनजस्ता क्षेत्रमा महिलाको सहभागिता बढाउन सके स्थानीय अर्थतन्त्रलाई समेत बलियो बनाउन सकिने उनको भनाइ थियो ।
कार्यक्रममा एकल अभियानका केन्द्रीय सह–अभियान प्रमुख दीपक कुमार, सत्संगको नगर संगठनका राष्ट्रिय अध्यक्ष घनश्याम काबरा, ग्राम संगठन राष्ट्रिय अभियानका अध्यक्ष विद्यानन्द माझी, सत्संगका राष्ट्रिय कोषाध्यक्ष भक्तिनाथ माझी, प्रदेश अध्यक्ष महेशकुमार स्वर्णाकारलगायतले महिला सशक्तीकरण, सामाजिक जागरण र आत्मनिर्भरता प्रवर्द्धनमा सामुदायिक संस्थाहरूको भूमिकाबारे धारणा राखेका थिए ।
वक्ताहरूले दिगो विकासका लागि सीप, पूँजी र अवसरबीचको सम्बन्धलाई सुदृढ बनाउन आवश्यक रहेको उल्लेख गर्दै महिलालाई केवल सहायता प्रदान गर्नेभन्दा पनि उत्पादनमूलक कार्यमा जोड्नुपर्नेमा जोड दिए । उनीहरूले सिलाई मेसिन वितरणसँगै उन्नत सिलाई तालिम, बजार व्यवस्थापन र उद्यम सञ्चालनसम्बन्धी सहजीकरणसमेत आवश्यक रहेको बताए ।
श्रीहरि सत्संग समिति नेपालले विगतदेखि शिक्षा, स्वास्थ्य, सामाजिक सेवा तथा धार्मिक चेतना अभिवृद्धिका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले आगामी दिनमा पनि स्वरोजगार सिर्जना, सीप विकास तथा समुदायकेन्द्रित सामाजिक अभियानलाई निरन्तरता दिने जनाएको छ ।
स्थानीयवासीका अनुसार यस्ता कार्यक्रमले केवल राहत वितरणको सीमित उद्देश्य पूरा नगरी दीर्घकालीन आम्दानीको आधार निर्माण गर्ने भएकाले समाजमा सकारात्मक प्रभाव पारिरहेका छन् । सिलाई मेसिन प्राप्त गरेका महिलाले पनि यस अवसरलाई उद्यममा रूपान्तरण गर्दै आत्मनिर्भर बन्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।