Breaking Nepal

विराटनगर / जिपी कोइराला स्पोर्ट्स एकेडेमीद्वारा आयोजित ‘दोस्रो जिपी कोइराला अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता–२०८३’ सम्पन्न भएको छ । विराटनगरस्थित सहिद मैदान पूर्व टेबलटेनिस हलमा सम्पन्न प्रतियोगितामा १८ विद्यालयका २२० खेलाडीले सहभागिता जनाउँदै विभिन्न उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले विजेता खेलाडीलाई सिल्ड, मेडल तथा नगद पुरस्कार प्रदान गरे । प्रतियोगितामा क्याडेट ब्वाइज, क्याडेट गर्ल्स, सब–जुनियर ब्वाइज, सब–जुनियर गर्ल्स, जुनियर ब्वाइज र जुनियर गर्ल्स गरी ६ विधामा प्रतिस्पर्धा भएको थियो ।
क्याडेट गर्ल्स (कक्षा ५ सम्म) तर्फ पिटर प्यान प्ले पेन स्कुलकी तक्ष्वी धनावत प्रथम भइन् । अरनिको स्कुलकी आरोही झा द्वितीय हुँदा अरनिकोकै रोलिशा चौहान र डिएभी स्कुलकी आरोही साह संयुक्त तृतीय भए ।
क्याडेट ब्वाइज (कक्षा ५ सम्म) मा पिटर प्यान प्ले पेन स्कुलका नीरजंग थापा प्रथम बने। बुढानिलकण्ठ स्कुलका आभाष लामिछाने द्वितीय तथा आरुष पोखरेल र श्री श्री रविशंकर स्कुलका रुद्रान्स सुलभ सापकोटा संयुक्त तृतीय भए ।
सब–जुनियर गर्ल्स (कक्षा ६–७) तर्फ श्री श्री रविशंकर स्कुलकी प्राप्ति सेढाइले उपाधि जितिन् । बिकेभिएम स्कुलकी रोशिका घिमिरे द्वितीय हुँदा अरनिको स्कुलकी स्वर्णिमा कोइराला र साइना अधिकारी संयुक्त तृतीय भए ।
सब–जुनियर ब्वाइज (कक्षा ६–७) मा डिपिएस विराटनगरका आदर्श गुप्ता प्रथम भए। जनता नमुना माविका रक्ष बुढा द्वितीय तथा लिलिपुट स्कुलका अध्ययन कोइराला र सगरमाथा स्कुलका आरोन श्रेष्ठ संयुक्त तृतीय स्थानमा रहे ।
जुनियर गर्ल्स (कक्षा ८–१०) तर्फ एभरेस्ट स्कुलकी कृपा पोखरेल विजेता बनिन् । श्री श्री रविशंकर स्कुलकी स्वस्तिका चौधरी द्वितीय हुँदा बुढानिलकण्ठ स्कुलकी मानसी तामाङ र आकृति मगर संयुक्त तृतीय भए ।
जुनियर ब्वाइज (कक्षा ८–१०) मा लिलिपुट स्कुलका श्रीजल प्याकुरेलले प्रथम स्थान हासिल गरे। मार्टर्स मेमोरियल स्कुलका सक्षम बस्नेत द्वितीय तथा डिएभी स्कुलका विवान अग्रवाल र बुढानिलकण्ठ स्कुलका आयान श्रेष्ठ संयुक्त तृतीय बने ।
यसअघि प्रतियोगिताको उद्घाटन कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य–सचिव विप्लव घोषले गरेका थिए । कार्यक्रममा बोर्डका उपाध्यक्ष बसन्तराज अर्याल, विराटनगर महानगरपालिका–७ का वडाध्यक्ष मधुबाबु तिवारीलगायतले विद्यालयस्तरको खेलकुद विकासमा यस्ता प्रतियोगिताको महत्वबारे धारणा राखेका थिए ।
एकेडेमीका अध्यक्ष रञ्जन थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतियोगिता सफल बनाउन सहयोग गर्ने मोरङ जिल्ला टेबलटेनिस संघका अध्यक्ष बिकेन थापासहित विभिन्न व्यक्तित्वलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन एकेडेमीका सचिव प्रकाश दाहालले गरेका थिए ।