पोखरिया माविको विज्ञान मेला : फोहोरबाट बिजुलीदेखि मानव मुटुसम्म, विद्यार्थीका नवप्रवर्तनप्रति सबैको आकर्षण

Breaking Nepal

आइतबार ,जेष्ठ ३१ , २०८३ १९:२१

विराटनगर / विद्यालय तहबाटै वैज्ञानिक सोच, अनुसन्धान संस्कृति र नवप्रवर्तनात्मक क्षमताको विकास गर्ने उद्देश्यसहित आयोजित विज्ञान प्रदर्शनीमा विद्यार्थीहरूले सिर्जनशीलता र व्यवहारिक ज्ञानको प्रभावशाली प्रस्तुति दिएका छन् ।

विराटनगर–३ स्थित पोखरिया माध्यमिक विद्यालयमा आइतबार सम्पन्न विज्ञान प्रदर्शनी तथा पुरस्कार वितरण कार्यक्रममा विद्यार्थीका नवीनतम् परियोजनाले अभिभावक, शिक्षक तथा अवलोकनकर्ताको ध्यान आकर्षित गरेको हो ।

विद्यालयले नियमित शैक्षिक गतिविधिसँगै प्रयोगमुखी सिकाइलाई प्राथमिकता दिँदै आयोजना गरेको प्रदर्शनीमा कक्षा ६ देखि १२ सम्मका विद्यार्थीले २३ वटा स्टलमार्फत विभिन्न वैज्ञानिक अवधारणा, प्रविधि र नवप्रवर्तनमा आधारित मोडल प्रस्तुत गरेका थिए ।

प्रदर्शनीका आकर्षणमध्ये कक्षा १० का विद्यार्थी विशाल पाल नेतृत्वको पाँच सदस्यीय टोलीले फोहोरजन्य पदार्थबाट विद्युत् उत्पादन गर्ने मोडल प्रस्तुत गर्‍यो । टोलीका अनुसार विकसित देशहरूमा प्रयोगमा रहेको यस्तो अवधारणालाई नेपालमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके फोहोर व्यवस्थापनको समस्या समाधानसँगै ऊर्जा उत्पादनबाट आर्थिक लाभसमेत लिन सकिन्छ । मोडल निर्माणका लागि टोलीले लामो समय अध्ययन र अभ्यास गरेको जनाएको छ ।

त्यस्तै, कक्षा ९ की छात्रा सुष्यना काफ्लेले मानव मुटुको संरचना र कार्यप्रणाली झल्काउने मोडलमार्फत स्वास्थ्य विज्ञानप्रतिको आफ्नो रुचि प्रस्तुत गरिन् । उनले मुटुको कार्यविधि र शरीरमा यसको भूमिकाबारे अवलोकनकर्तालाई जानकारी दिँदै विभिन्न शैक्षिक स्रोतको अध्ययनबाट मोडल तयार पारेको बताइन् ।

प्रदर्शनीमा प्रस्तुत परियोजनाको प्राविधिक मूल्याङ्कनपछि उत्कृष्ट टोलीलाई १५ हजार रुपैयाँ, दोस्रो हुनेलाई १२ हजार रुपैयाँ, तेस्रो हुनेलाई १० हजार रुपैयाँ तथा सान्त्वना स्थान प्राप्त गर्ने टोलीलाई एक हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ । मूल्याङ्कन कार्य पूर्वाञ्चल इन्जिनियरिङ कलेजका उपप्राध्यापक मनोज गुरागाईं र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका भौतिकशास्त्र विभागका उपप्राध्यापक ससितकुमार यादवले गरेका थिए ।

यसै अवसरमा विद्यालयले शैक्षिक सत्र २०८२ मा नर्सरीदेखि कक्षा ११ सम्म उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई पनि नगद पुरस्कारसहित सम्मान गरेको छ । प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई क्रमशः ४ हजार, ३ हजार र २ हजार रुपैयाँ प्रदान गरिएको विद्यालयले जनाएको छ ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुण्यप्रसाद भण्डारीले यस्ता गतिविधिले विद्यार्थीको अन्तरनिहित प्रतिभा, अनुसन्धान क्षमता र प्राविधिक दक्षता उजागर गर्ने बताए । विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख रामप्रसाद ढुंगेलले प्रयोगात्मक शिक्षाको संस्कार विकासमा विज्ञान प्रदर्शनी प्रभावकारी माध्यम बन्ने धारणा राखे ।

विद्यालयका प्राचार्य खेमराज भट्टराईका अनुसार विज्ञान प्रदर्शनी केवल प्रतिस्पर्धात्मक कार्यक्रम नभई विद्यार्थीमा नवप्रवर्तन, अनुसन्धान र व्यवहारिक सिकाइ प्रवर्द्धन गर्ने महत्वपूर्ण शैक्षिक अभ्यास हो ।

विद्यार्थीलाई आफ्ना सिर्जना, अनुसन्धान र वैज्ञानिक अवधारणा प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको उक्त प्रदर्शनीले विद्यालयमा वैज्ञानिक चेतना, प्रयोगमुखी शिक्षा र नवप्रवर्तन संस्कृतिलाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ छ ।