सेन्ट जोसेफमा ‘नियोन फ्रेसेर्स पूल पार्टी’: नयाँ विद्यार्थीको भव्य स्वागत, क्याम्पसमा उत्सवमय माहोल

Breaking Nepal

आइतबार ,जेष्ठ ३१ , २०८३ २०:४५

विराटनगर / विराटनगरस्थित सेन्ट जोसेफ प्लस टु कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागतमा आकर्षक ‘फ्रेसेर्स पूल पार्टी’ आयोजना गरेको छ। कलेज परिसरमै रहेको स्विमिङ पुललाई केन्द्र बनाएर ‘नियोन थिम’ मा रंगीन तथा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरिएको हो।

नयाँ शैक्षिक सत्र सुरु हुनुअघि आयोजित उक्त कार्यक्रमलाई कलेजले विद्यार्थीहरूबीच आत्मीयता बढाउने र ‘आइस ब्रेकिङ’ को अवसरका रूपमा प्रस्तुत गरेको जनाएको छ।

कार्यक्रममा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूले विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। पुलमाथि विशेष रूपमा निर्माण गरिएको आकर्षक स्टेजमा उनीहरूले नृत्य र गायनमार्फत आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए।

त्यस्तै, कार्यक्रममा डीजेको धमाकेदार संगीतसँगै बाह्य सांगीतिक ब्यान्डहरूको प्रस्तुति पनि समावेश थियो। नियोन लाइट, रंगीन सजावट र पूल परिसरको विशेष व्यवस्थापनले कार्यक्रमलाई अझ भव्य र आकर्षक बनाएको थियो।

कलेजका प्रिन्सिपल रोहित थपलियाले सेन्ट जोसेफले शैक्षिक गुणस्तरलाई प्राथमिकतामा राख्दै सीमित सिटमा मात्र विद्यार्थी भर्ना लिने नीति अपनाएको जानकारी दिए। उनका अनुसार यस्ता कार्यक्रमले नयाँ विद्यार्थीलाई सहज रूपमा कलेज वातावरणमा घुलमिल हुन मद्दत पुर्‍याउँछ।

कलेजले जनाएको अनुसार कक्षा ११ को नियमित पठनपाठन भोलिदेखि सुरु हुनेछ। औपचारिक कक्षा सुरु हुनुअघि नै विद्यार्थीहरूलाई उत्साह र ऊर्जा प्रदान गर्ने उद्देश्यसहित सांगीतिक तथा मनोरञ्जनात्मक वातावरणमा स्वागत कार्यक्रम आयोजना गरिएको हो।