Breaking Nepal

विराटनगर / हिन्दू दर्शन, वैदिक चिन्तन तथा आध्यात्मिक नेतृत्वका अन्तर्राष्ट्रिय रूपमा चर्चित व्यक्तित्व स्वामी अवधेशानन्द गिरि आगामी असार ६ गते विराटनगरमा आयोजना हुने ‘सनातन सम्मेलन’मा सहभागी हुन नेपाल आउने भएका छन् । आयोजकका अनुसार सम्मेलनमा मुख्य वक्ताका रूपमा सहभागी हुने उनले सनातन धर्म, संस्कृति, मानवीय मूल्य तथा समकालीन विश्वका चुनौतीबारे आफ्ना धारणा प्रस्तुत गर्नेछन् ।
सम्मेलनबारे जानकारी दिन सोमबार विराटनगरस्थित आमाको छात्रावासमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले स्वामी अवधेशानन्दको नेपाल भ्रमण तालिका तथा सम्मेलनका प्रमुख कार्यक्रम सार्वजनिक गरेको हो ।
आयोजकका अनुसार सम्मेलनमा अन्तर्राष्ट्रिय बौद्ध महासंघ नेपाल च्याप्टरका अध्यक्ष भिक्षु फुपु छेम्बे शेर्पा ‘थुप्तेन जिग्दोल’ तथा किरात धर्मगुरु मुहिङ्गुम अङ्सीमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’को समेत सहभागिता रहनेछ । विभिन्न धार्मिक परम्परा र दर्शनका प्रतिनिधि एउटै मञ्चमा उपस्थित हुने भएकाले सम्मेलन धार्मिक सहिष्णुता, अन्तरधार्मिक संवाद र सांस्कृतिक सहअस्तित्व प्रवर्द्धनका दृष्टिले महत्वपूर्ण मानिएको छ ।
सन् २००८ मा ‘हिन्दु पुनर्जागरण पुरस्कार’बाट सम्मानित स्वामी अवधेशानन्द असार ५ गते काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ । सोही दिन राजधानीमा आयोजना हुने प्रबुद्ध नागरिक गोष्ठीमा सहभागी भएपछि उनी विराटनगर प्रस्थान गर्नेछन् । नेपाल भ्रमणका क्रममा उनले असार ७ गते पशुपतिनाथ मन्दिर तथा वसन्तपुरस्थित जीवित देवी कुमारीको दर्शन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
भारतको सबैभन्दा ठूलो नागा साधु संगठन ‘जूना अखडा’का आचार्य महामण्डलेश्वर रहेका स्वामी अवधेशानन्दलाई सन् १९९८ मा हरिद्वार कुम्भ मेलाका क्रममा अखडाका सन्तहरूले सर्वसम्मत रूपमा उक्त पदमा चयन गरेका थिए । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा प्रभावशाली नेतृत्वका रूपमा स्थापित उनी हिन्दु धर्म आचार्य सभाका अध्यक्ष तथा ‘वल्र्ड काउन्सिल अफ रिलिजियस लिडर्स’का बोर्ड सदस्यसमेत हुन् ।
योग, वेदान्त र सनातन दर्शनका गहन अध्येता मानिने स्वामी अवधेशानन्दले हालसम्म लाखौं साधुलाई संन्यास दीक्षा प्रदान गरिसकेका छन् । आध्यात्मिक प्रवचनसँगै जलवायु परिवर्तन, पर्यावरण संरक्षण, मानवता तथा विश्वशान्तिका विषयमा पनि उनी सक्रिय रूपमा अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्ना विचार राख्दै आएका छन् । सन् २०१९ मा संयुक्त राष्ट्रसंघको मुख्यालयमा उनले जलवायु परिवर्तन र विश्वशान्तिका विषयमा विशेष सम्बोधन गरेका थिए ।
आयोजकका अनुसार स्वामी अवधेशानन्दको नेपाल भ्रमणले धार्मिक पर्यटन तथा आध्यात्मिक गन्तव्यका रूपमा नेपालको अन्तर्राष्ट्रिय पहिचान थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । सरकारले अघि बढाएको ‘देवभूमि नेपाल’ अवधारणालाई समेत अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरिएको छ।
विराटनगरमा आयोजना हुन लागेको सनातन सम्मेलनले धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक विमर्शलाई नयाँ आयाम दिने अपेक्षा गरिएको आयोजकको भनाइ छ ।