Breaking Nepal

विराटनगर / वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका युवाको आर्थिक पुनःएकीकरणलाई प्रभावकारी बनाउने उद्देश्यले कोशी प्रदेशका उद्योग तथा व्यवसायीहरूसँग प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र रेमी परियोजनाको सहकार्यमा आयोजित कार्यक्रममा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरूलाई स्वदेशमै रोजगारी तथा उद्यमशीलतासँग जोड्ने विषयमा उद्योगी–व्यवसायी र सरोकारवालाबीच व्यापक छलफल भएको हो ।
महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासंघले हालसम्म वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूको आर्थिक पुनःएकीकरणका लागि गरिएका गतिविधिबारे प्रतिवेदन प्रस्तुत गरेको थियो । प्रतिवेदनअनुसार कोशी प्रदेशका १० स्थानीय तहमा रोजगारदाता र आप्रवासी सञ्जालका प्रतिनिधिबीच उपलब्ध रोजगारी, श्रम बजारको माग तथा कामदारको दक्षतासम्बन्धी छलफल सम्पन्न गरिएको छ ।
महासंघले रोजगारीको खोजीमा रहेका फर्किएका श्रमिक तथा दक्ष जनशक्तिको अभाव झेलिरहेका उद्योग–व्यवसायको विवरण संकलन गरी स्थानीय तहका रोजगार सूचना केन्द्रसँग समन्वय गर्दै रोजगार मिलानको कामसमेत अघि बढाएको जनाएको छ ।
कार्यक्रममा उद्योगीहरूले दक्ष र अनुभवी जनशक्तिलाई रोजगारी दिन तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए । प्रगति टेक्सटायलका प्रतिनिधि प्रदीप निरौलाले उद्योग क्षेत्रले दक्ष, अनुशासित र कामप्रति समर्पित जनशक्तिको निरन्तर खोजी गरिरहेको बताए। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सका महेश पोखरेलले आवश्यक सीप भएका युवालाई रोजगार अवसर उपलब्ध गराउन आफ्नो कम्पनी प्रतिबद्ध रहेको धारणा राखे ।
एशियन थाई फुड्सका प्रतिनिधि शिवप्रसाद निरौलाले खाद्य उद्योग क्षेत्रमा दक्ष जनशक्तिका लागि पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै आवश्यक योग्यता भएका श्रमिकलाई रोजगारी दिन सकिने बताए । कार्यक्रममा पल्स फेसन सोलुसन, सुदर्शन सेक्युरिटी सर्भिस प्रालि तथा डेरी क्षेत्रका उद्यमीहरूले समेत रोजगारी सिर्जनामा सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।
सामाजिक विकास मन्त्रालय, कोशी प्रदेशका उपसचिव गोपाल दाहालले वैदेशिक रोजगारीबाट फर्किएका नागरिकलाई लक्षित गरी मन्त्रालयले सञ्चालन गरिरहेका विभिन्न कार्यक्रम तथा परियोजनाबारे जानकारी गराएका थिए ।
करिब ५० उद्योग प्रतिष्ठानका सञ्चालक तथा व्यवस्थापक सहभागी कार्यक्रममा स्वदेश फर्किएका श्रमिकको सीप, अनुभव र श्रमशक्तिलाई प्रदेशको औद्योगिक तथा आर्थिक विकाससँग जोड्न निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेकोमा जोड दिइएको थियो ।
महासंघ कोशी प्रदेशका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम)का अनुसार वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई स्थानीय श्रम बजारसँग जोड्ने तथा उनीहरूको आर्थिक पुनःस्थापनालाई दिगो बनाउने अभियान आगामी दिनमा थप प्रभावकारी रूपमा अघि बढाइनेछ।