Breaking Nepal

विराटनगर / भारतीय पक्षले गुणस्तर परीक्षणको नाममा नेपाली चिया निर्यातमा नयाँ गैरभन्सार अवरोध खडा गरेपछि कोशी प्रदेशका चिया उद्योगहरू गम्भीर संकटमा परेका छन् । निर्यात प्रक्रिया अवरुद्ध हुँदा उद्योगहरूले उत्पादन रोक्नुपर्ने अवस्था आएको भन्दै निजी क्षेत्रले तत्काल कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कोशी प्रदेशले बुधबार जारी गरेको विज्ञप्तिमा झापा, इलामलगायत जिल्लामा उत्पादित नेपाली चिया भारत निर्यातका क्रममा भारतीय पक्षले लागू गरेको नयाँ व्यवस्थाले निर्यात ठप्प बनेको जनाएको छ । महासंघका अध्यक्ष राजेन्द्र राउतद्वारा जारी विज्ञप्तिअनुसार ठूलो परिमाणमा तयारी चिया सीमावर्ती नाकामा रोकिँदा उद्योगहरूको मौज्दात बढ्नुका साथै नगद प्रवाहमा गम्भीर समस्या देखिएको छ ।
महासंघले चिया नेपालको प्रमुख निर्यातजन्य वस्तुमध्ये एक भएको उल्लेख गर्दै यस उद्योगले रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन, पर्यटन प्रवद्र्धन, वातावरण संरक्षण तथा स्थानीय अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको जनाएको छ । विगतमा यस्ता समस्या आपसी संवाद र कूटनीतिक पहलमार्फत समाधान हुँदै आए पनि यसपटक लामो समयसम्म निर्यात अवरुद्ध हुँदा उद्योग, किसान र श्रमिक सबै प्रभावित बनेका छन् ।
तथ्यांकअनुसार नेपालमा करिब १० हजार हेक्टर क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । वार्षिक २ करोड ७४ लाख केजी चिया उत्पादन हुने नेपालबाट भारतमा मात्रै वर्षेनि करिब २ करोड ५६ लाख केजी चिया निर्यात हुने गरेको छ । चिया क्षेत्रसँग प्रत्यक्ष रूपमा २० हजारभन्दा बढी श्रमिक तथा किसानको जीविकोपार्जन जोडिएको छ ।
अध्यक्ष राउतका अनुसार निर्यात अवरोध लम्बिँदै जाँदा उद्योगहरू सञ्चालन खर्च व्यवस्थापन गर्न नसक्ने अवस्थामा पुगेका छन् । ‘उद्योगमा उत्पादित चिया थन्किँदै गएको छ, नगद प्रवाह प्रभावित भएको छ र किसान तथा श्रमिकमा समेत यसको प्रत्यक्ष असर देखिन थालेको छ,’ उनले विज्ञप्तिमा भनेका छन् ।
महासंघका अनुसार निर्यात अवरोधकै कारण अधिकांश चिया उद्योग विगत तीन दिनदेखि बन्द हुने वा उत्पादन कटौती गर्नुपर्ने दबाबमा परेका छन् । अवस्था थप जटिल बन्दै गए हजारौँ किसान र श्रमिक बेरोजगार बन्ने जोखिम रहेको महासंघको भनाइ छ ।
महासंघले नेपाल सरकारलाई तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरी भारतीय पक्षसँग वार्ता गर्न तथा नेपाली चियाको निर्बाध निर्यात सुनिश्चित गर्न आग्रह गरेको छ । साथै, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रसँग समेत आवश्यक पहलका लागि अनुरोध गरिएको जनाउँदै नेपाली चिया उद्योग, किसान र श्रमिकको हित संरक्षणमा महासंघ निरन्तर प्रतिबद्ध रहने जनाएको छ ।
