मन्दिरमा दबाबपूर्ण विवाह गराएको आरोप, मुख्य अभियुक्त समातिए

Breaking Nepal

बिहीबार ,असार ४ , २०८३ ०८:२०

सप्तरी / युवाको इच्छा र सहमतिविपरीत जबर्जस्ती विवाह गराएको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका–९ निवासी मनोजकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रहरीका अनुसार ठाकुरले २०८२ साउन ३१ गते सुरुङ्गा नगरपालिका–१० निवासी नागेन्द्र यादवको मन्जुरीबिनै सोही क्षेत्रकी २२ वर्षीया युवतीसँग जबर्जस्ती विवाह गराएको आरोप लागेको छ । उक्त विवाह वडा नम्बर ९ स्थित केशव स्मारक जनता माध्यमिक विद्यालय टिकुलियाको परिसरभित्र रहेको सरस्वती मन्दिरमा सम्पन्न गरिएको बताइएको छ ।

घटनापछि पीडित नागेन्द्र यादवले आफूलाई कुटपिट गर्दै दबाबमा पारेर विवाह गराइएको भन्दै ठाकुरविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।

उजुरीका आधारमा अनुसन्धान सुरु गरेको प्रहरीले फरार रहेका ठाकुरलाई पक्राउ गरेको हो । जिल्ला अदालत राजविराजबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।

प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको भूमिकाबारे समेत अनुसन्धान अघि बढाइएको जनाएको छ ।