कांग्रेस–रास्वपा सम्बन्ध प्रतिस्पर्धाको, शत्रुताको होइन : गगन थापा

Breaking Nepal

आइतबार ,असार ७ , २०८३ १८:०७

काठमाडौं / नेपाली कांग्रेसका नेता गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबीचको सम्बन्ध राजनीतिक प्रतिस्पर्धाको भए पनि शत्रुताको नभएको बताएका छन् ।

रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको उल्लेख गरे । उनले कांग्रेसले आफ्नो संगठन, कार्यशैली र जनविश्वासलाई थप मजबुत बनाउँदै अघि बढ्ने लक्ष्य लिएको बताए ।

‘नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन। हामी आफ्नै क्षमता, इमानदारी र कामका आधारमा अझ बलियो बन्न चाहन्छौं,’ उनले भने ।

थापाले अर्को राजनीतिक शक्तिलाई कमजोर बनाएर वा उसको प्रभाव घटाएर आफूहरू अगाडि बढ्ने सोच कांग्रेसको नरहेको स्पष्ट पारे । पार्टीभित्रका कमजोरी सुधार्दै, सुशासन र जनउत्तरदायित्वलाई प्राथमिकता दिएर जनविश्वास जित्ने लक्ष्य रहेको उनको भनाइ थियो ।

कार्यक्रममा उनले रास्वपाले छोटो अवधिमै हासिल गरेको जनसमर्थनको प्रशंसा गर्दै त्यसलाई नेपाली राजनीतिमा उल्लेखनीय उपलब्धिका रूपमा चित्रित गरे । नयाँ राजनीतिक शक्तिका रूपमा रास्वपाले चार वर्षभित्र प्राप्त गरेको जनमत असाधारण रहेको उल्लेख गर्दै उनले त्यसका लागि पार्टी नेतृत्व र कार्यकर्तालाई बधाइ दिए ।

थापाले जनताले राजनीतिक दलप्रति राखेको विश्वास जोगाउन जिम्मेवार र परिणाममुखी काम आवश्यक रहेको पनि बताए। लोकतान्त्रिक प्रतिस्पर्धाले राजनीतिक संस्कारलाई परिपक्व बनाउने भन्दै उनले सबै दलले जनअपेक्षा पूरा गर्नेतर्फ केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे ।

उनले राजनीतिक प्रतिस्पर्धा आरोप–प्रत्यारोपभन्दा पनि कार्यसम्पादन, पारदर्शिता र सुशासनका आधारमा हुनुपर्नेमा जोड दिए ।