रास्वपाको महाधिवेशनमा आज नेतृत्व चयनको प्रक्रिया सुरु, उम्मेदवारी दर्तादेखि मतदानसम्मको कार्यतालिका सार्वजनिक

Breaking Nepal

सोमबार ,असार ८ , २०८३ ०८:०१

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्र आज चितवनस्थित उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सुरु हुँदैछ। बन्दसत्र बिहान ८ बजेदेखि सञ्चालन गर्ने तयारी गरिए पनि प्रतिनिधिहरूको उपस्थितिको अवस्था तथा भोजन व्यवस्थापनका कारण निर्धारित समयभन्दा केही ढिला सुरु हुने संकेत देखिएको छ।

आजको बन्दसत्रमा केन्द्रीय समितिबाट अनुमोदित विधान संशोधन प्रस्ताव, राजनीतिक तथा सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम तय गरिएको छ। ती प्रतिवेदनमाथि छलफल तथा आवश्यक निर्णयपछि पार्टीको भावी सांगठनिक दिशाबारे निष्कर्ष निकालिने जनाइएको छ।

महाधिवेशनको मुख्य आकर्षणका रूपमा नयाँ नेतृत्व चयनको प्रक्रिया पनि आजै औपचारिक रूपमा अघि बढ्नेछ। रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार निर्वाचनसम्बन्धी औपचारिक कार्यक्रम दिउँसो १ बजेदेखि सुरु हुनेछ।

निर्वाचन कार्यतालिकाअनुसार महाधिवेशन प्रतिनिधिहरूको अन्तिम नामावली बिहान १० बजे सार्वजनिक गरिनेछ। त्यसपछि दिउँसो १ बजेदेखि उम्मेदवारी मनोनयन फाराम वितरण गरिने र २ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।

निर्वाचन आयोगले राति ८ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गर्नेछ। सोही नामावलीमाथि दाबी–विरोध दर्ता तथा छानबिनका लागि एक घण्टाको समय छुट्याइएको छ। उम्मेदवारले नाम फिर्ता लिन चाहे राति ९ बजेदेखि १५ मिनेटको समय उपलब्ध गराइनेछ भने अन्तिम उम्मेदवार सूची राति ११ बजे सार्वजनिक गरिने कार्यक्रम छ।

महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन हुने भए पनि सभापति पदमा वर्तमान सभापति रवि लामिछानेलाई नै निरन्तरता दिने वातावरण बनेको बताइएको छ। यद्यपि निर्वाचन आयोगले प्रतिस्पर्धात्मक निर्वाचनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया र कार्यतालिका सार्वजनिक गरिसकेको छ।

निर्वाचन कार्यक्रमअनुसार असार ९ गते बिहान ७ बजेदेखि डेढ घण्टाको मौन अवधि रहनेछ। त्यसपछि बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म पहिलो चरणको मतदान सञ्चालन हुनेछ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्य पदका लागि मतदान हुने व्यवस्था गरिएको छ।

पहिलो चरणको मतपरिणाम मतदान सम्पन्न भएको करिब दुई घण्टापछि सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ। त्यसपछि उपसभापति, महामन्त्रीसहित अन्य पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान प्रक्रिया सञ्चालन गरिनेछ, जसको विस्तृत कार्यतालिका आयोगले सार्वजनिक गरिसकेको छ।

रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीको संगठनात्मक संरचना सुदृढीकरण, नीतिगत पुनर्संरचना तथा नेतृत्व हस्तान्तरण प्रक्रियाको महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।