कर्णाली राजमार्गका १६ रुग्ण ठेक्का एकैपटक खारेजी प्रक्रियामा

Breaking Nepal

शनिबार ,असार १३ , २०८३ १८:१९

जुम्ला । कर्णाली राजमार्गअन्तर्गत वर्षौंदेखि अलपत्र रहेका १६ वटा सडक निर्माण ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाइएको छ। जुम्लास्थित सडक डिभिजन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै निर्माण व्यवसायीले पटक–पटकको ताकेता बेवास्ता गरेपछि ठेक्का खारेजी प्रक्रिया सुरु गरेको जनाएको छ।

कार्यालयका अनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०८२/८३ सम्म विभिन्न समयमा सम्झौता भएका कालिकोटका १२, जुम्लाका तीन र मुगुका एक गरी १६ वटा सडक आयोजना निर्माण व्यवसायीको लापरबाहीका कारण लामो समयदेखि अलपत्र छन्। तोकिएको अवधिमा निर्माण सम्पन्न नगरी आयोजना रोकिएपछि सार्वजनिक खरिद ऐनबमोजिम १५ दिने सूचना जारी गर्दै ठेक्का सम्झौता अन्त्यको प्रक्रिया अघि बढाइएको हो।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहका अनुसार निर्माण व्यवसायीलाई विभिन्न समयमा लिखित तथा मौखिक रूपमा काम सम्पन्न गर्न आग्रह गरिए पनि कुनै प्रभावकारी प्रगति नभएपछि कानुनी प्रक्रिया अपनाइएको हो।

कार्यालय प्रमुख श्रवणकुमार महतराले ठेक्का लिएर काम नगर्ने र सार्वजनिक आयोजना अलपत्र पार्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कडा कदम चालिएको बताए। उनका अनुसार ठेक्का सम्झौता अन्त्यसँगै सम्बन्धित निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने, कार्यसम्पादन जमानत तथा धरौटी जफत गर्ने, पेस्की रकम र त्यसको १० प्रतिशत ब्याज असुल गर्ने तथा बाँकी निर्माण सम्पन्न गर्न सरकारले व्यहोर्नुपर्ने अतिरिक्त खर्चसमेत सम्बन्धित निर्माण व्यवसायीबाट सरकारी बाँकीसरह असुलउपर गर्ने प्रक्रिया अघि बढाइनेछ।

कार्यालयका अनुसार यसअघि पनि कर्णाली राजमार्गअन्तर्गत अलपत्र परेका १० वटा रुग्ण सडक आयोजनाको ठेक्का सम्झौता खारेज गरिसकिएको छ। लगातार ठेक्का खारेजीको कदमसँगै कर्णालीका विकास आयोजनामा देखिएको ढिलासुस्ती र निर्माण व्यवसायीको गैरजिम्मेवारी नियन्त्रण गर्ने सरकारी प्रयास थप कडा बनाइएको कार्यालयको भनाइ छ।