Breaking Nepal

जुम्ला । सडक डिभिजन कार्यालय, जुम्लाले कर्णाली राजमार्गअन्तर्गत वर्षौंदेखि अलपत्र अवस्थामा रहेका १६ वटा रुग्ण सडक निर्माण ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाएको छ।
कार्यालयले १५ दिने सार्वजनिक सूचना जारी गर्दै कालिकोट, जुम्ला र मुगु जिल्लामा सञ्चालनमा रहेका ती आयोजनाका निर्माण व्यवसायीलाई ठेक्का सम्झौता रद्द गरिने जानकारी दिएको हो। सूचना अधिकारी सौरभकुमार सिंहका अनुसार सम्झौता भएको लामो समय बितिसक्दा पनि निर्माण कार्य सम्पन्न नभएकाले कानुनी प्रक्रिया अघि बढाइएको हो।
रद्द प्रक्रियामा परेका ठेक्कामध्ये १२ वटा कालिकोट, तीन वटा जुम्ला र एउटा मुगु जिल्लामा रहेका आयोजना हुन्। यी ठेक्काहरू आर्थिक वर्ष २०७४/७५ देखि विभिन्न अवधिमा सम्झौता गरिएका थिए।
सडक डिभिजन कार्यालयका प्रमुख श्रवणकुमार महतराले निर्माण व्यवसायीलाई पटक–पटक लिखित तथा मौखिक रूपमा काम सम्पन्न गर्न आग्रह गरिए पनि कुनै चासो नदेखाएकाले सार्वजनिक खरिद ऐनअनुसार ठेक्का अन्त्य गर्ने निर्णय गरिएको बताए।
उनका अनुसार ठेक्का सम्झौता रद्दसँगै सम्बन्धित निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने, कार्यसम्पादन जमानत तथा धरौटी जफत गर्ने, पेस्की रकम १० प्रतिशत ब्याजसहित असुल गर्ने र बाँकी निर्माण कार्य सम्पन्न गर्न लाग्ने अतिरिक्त खर्चसमेत सरकारी बाँकीसरह असुलउपर गर्ने प्रक्रिया अगाडि बढाइनेछ।
यसअघि पनि कर्णाली राजमार्गअन्तर्गत अलपत्र परेका १० वटा रुग्ण ठेक्का रद्द गरिसकिएको सडक डिभिजन कार्यालयले जनाएको छ।