Breaking Nepal

विराटनगर / माहेश्वरी महिला मञ्चले आगामी असार १५ गते विराटनगरमा ११ विपन्न जोडीको सामूहिक विवाह आयोजना गर्ने भएको छ । आर्थिक रूपमा कमजोर परिवारका जोडीलाई सामाजिक रूपमा सम्मानपूर्वक वैवाहिक जीवनमा प्रवेश गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको मञ्चले जनाएको छ ।
मञ्चका अनुसार सामूहिक विवाह विराटनगरस्थित अतिथि सदनको राधा मण्डपमा बिहान ११ः१५ बजे सुरु हुनेछ । कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।
मञ्चकी अध्यक्ष ललिता जाजुले अभिभावक तथा सम्बन्धित जनप्रतिनिधिको समन्वयमा अति विपन्न परिवारबाट छनोट गरिएका ११ जोडीको विवाह सम्पन्न गरिने जानकारी दिइन् । यस्ता कार्यक्रमले आर्थिक अभावका कारण विवाह गर्न कठिनाइ भोगिरहेका परिवारलाई उल्लेखनीय राहत पुग्ने विश्वास उनले व्यक्त गरिन् ।
माहेश्वरी महिला मञ्चले दोस्रो पटक सामूहिक विवाह कार्यक्रम आयोजना गर्न लागेको हो । कार्यक्रमको संयोजकको जिम्मेवारी शीतल बाहेतीले सम्हालेकी छन् भने सहसंयोजक अर्चना तापडियाले व्यवस्थापनमा सहकार्य गरिरहेकी छन् ।
यसअघि सम्पन्न सामूहिक विवाह कार्यक्रममा सहभागी परिवारले आर्थिक भार कम हुनुका साथै सामाजिक रूपमा समेत सकारात्मक सन्देश प्रवाह भएको अनुभव साझा गरेका थिए । मञ्चले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।