Breaking Nepal

काठमाडौं / सुरक्षित पुनर्स्थापनाको सुनिश्चितता नगरी होल्डिङ सेन्टरबाट हटाउने सरकारी तयारीको विरोध गर्दै भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले काठमाडौंमा प्रदर्शन गरेका छन्।
शनिबार माइतीघर–बबरमहल क्षेत्रमा आयोजित प्रदर्शनमा सहभागीहरूले सुरक्षित पुनर्स्थापना, भूस्वामित्वसहितको आवास अधिकार तथा सम्मानजनक बसोबासको प्रत्याभूति नभएसम्म कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन सरकारसँग माग गरेका हुन्।
प्रदर्शनकारीहरूले सरकारले पटक–पटक गरेका प्रतिबद्धता कार्यान्वयन गर्न, संविधान र प्रचलित कानुनअनुसार दिगो, न्यायपूर्ण तथा मानवीय समाधान तत्काल सुनिश्चित गर्न आग्रह गरेका छन्। पुनर्स्थापना गर्ने भए घर भत्काइएको स्थानमै वा कानुनी व्यवस्था अनुरूप उपयुक्त स्थानमा भूस्वामित्वसहित स्थायी व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ।
होल्डिङ सेन्टरमा बसोबास गरिरहेकाहरूले पटक–पटक सेन्टर खाली गर्न दबाब दिइँदा आफूहरू मानसिक तनावमा परेको बताएका छन्। विभिन्न सरकारी निकाय तथा प्रहरीमार्फत २५ हजार रुपैयाँ उपलब्ध गराएर सेन्टर छाड्न दबाब दिइएको उनीहरूको आरोप छ।
उचित पुनर्स्थापनाको व्यवस्था नगरी सडकमा अलपत्र पार्ने प्रयास भइरहेको भन्दै उनीहरूले तत्काल सम्मानजनक आवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘डोजर होइन, समाधान दे’, ‘जनता मार्न पाइँदैन, यस्तो सरकार चाहिँदैन’ र ‘गरिबमाथिको ज्यादती बन्द गर’ लगायतका नारा अंकित प्लेकार्ड प्रदर्शन गरेका थिए।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै असार १९ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि प्रभावित परिवार आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले पुनर्स्थापनाको स्पष्ट योजना सार्वजनिक नगरी हटाउने निर्णय कार्यान्वयन गरिए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन्।