रोटरी डिस्ट्रिक्ट ३२९२ का प्रमुख तीनै अवार्ड विराटनगर डाउनटाउनको पोल्टामा, एकै वर्षमा १५ सम्मान

Breaking Nepal

शनिबार ,असार १३ , २०८३ १९:३५

विराटनगर / रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) को वार्षिक अवार्ड समारोहमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनले उत्कृष्ट प्रदर्शन गर्दै सबैभन्दा प्रतिष्ठित तीनै विधाको सम्मान आफ्नो नाममा पार्न सफल भएको छ ।

क्लबले ‘आउटस्ट्यान्डिङ क्लब’, क्लबकी अध्यक्ष रोटेरियन गिरिजा सारडाले ‘आउटस्ट्यान्डिङ प्रेसिडेन्ट’ तथा सचिव रोटेरियन पूनम राठीले ‘आउटस्ट्यान्डिङ सेक्रेटरी’ अवार्ड प्राप्त गर्दै जिल्लाकै उत्कृष्ट क्लबका रूपमा आफ्नो पहिचान स्थापित गरेको हो ।

वार्षिक मूल्याङ्कनका आधारमा क्लबले वातावरण संरक्षण, स्थानीय अर्थतन्त्र प्रवर्द्धन, ‘ह्याप्पी स्कूल’ तथा बाल विकास कार्यक्रमअन्तर्गत उत्कृष्ट कार्यका लागि थप चार विधामा विजेता पुरस्कारसमेत हात पारेको छ ।

यसका साथै क्लब प्रशासन, सेवा परियोजना तथा वार्षिक कोष योगदानतर्फ प्रथम रनरअप तथा द रोटरी फाउन्डेसन, पब्लिक इमेज, रोग रोकथाम तथा उपचारतर्फ द्वितीय रनरअप सम्मान प्राप्त गर्दै क्लबले कुल १५ वटा अवार्ड आफ्नो नाममा दर्ज गराएको छ। क्लबलाई ‘१०० प्रतिशत टीआरएफ गिभिङ क्लब’ को मान्यता पनि प्रदान गरिएको छ ।

समारोहमा क्लबकी सदस्य रोटेरियन सुनिता अग्रवाललाई डिस्ट्रिक्ट मूल्याङ्कन टोलीमा पुर्‍याएको योगदानको कदर गर्दै विशेष प्रशंसा सम्मान प्रदान गरिएको थियो ।

उपलब्धिपछि प्रतिक्रिया दिँदै क्लबकी अध्यक्ष गिरिजा सारडाले यो सफलता कुनै एक व्यक्तिको नभई सम्पूर्ण क्लब परिवारको सामूहिक समर्पण, सक्रियता र सेवाभावको प्रतिफल भएको बताइन्। सदस्यहरूको निरन्तर सहभागिता, बोर्डको प्रभावकारी नेतृत्व र समुदायको विश्वासले क्लबलाई यो उपलब्धि हासिल गर्न सम्भव भएको उनको भनाइ थियो ।

रोटरी वर्ष २०२५–२६ मा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, बाल विकास, आर्थिक सशक्तीकरण तथा सामुदायिक सेवाका क्षेत्रमा सञ्चालन गरिएका कार्यक्रमको प्रभावकारिताका आधारमा क्लबलाई उक्त सम्मान प्रदान गरिएको हो ।

नेपाल र भुटानका सयौं रोटेरियनको सहभागिता रहेको समारोहमा रोटरी क्लब अफ विराटनगर डाउनटाउनको उपलब्धिलाई डिस्ट्रिक्ट ३२९२ कै उल्लेखनीय सफलतामध्ये एकका रूपमा हेरिएको छ ।