महासंघको व्यापार समितिको नेतृत्वमा पुगेका नवीन रिजाललाई मोरङ उद्योग व्यापार संघको बधाई तथा सम्मान

Breaking Nepal

मंगलबार ,असार १६ , २०८३ १९:२१

विराटनगर / मोरङ उद्योग व्यापार संघले संघका निवर्तमान अध्यक्ष नवीन रिजाल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को केन्द्रीय सदस्य तथा व्यापार समितिको सभापतिमा मनोनित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ । संघका अध्यक्ष, पदाधिकारी र सदस्यहरुले रिजाललाई खादा ओढाएर सम्मानसमेत गरेका थिए ।

संघमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष अनुपम राठीको नेतृत्वमा पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले रिजाललाई बधाई ज्ञापन गरेका हुन् ।

यसअघि गत वैशाखमा सम्पन्न महासंघको साधारणसभा तथा निर्वाचनपछि गठित कार्यसमितिमा रिजाल केन्द्रीय कार्यकारिणी समिति सदस्यमा मनोनित भएका थिए । त्यसपछि महासंघले उनलाई व्यापार समितिको सभापतिको जिम्मेवारी दिएको हो ।

कार्यक्रममा अध्यक्ष राठीले रिजालले मोरङ उद्योग व्यापार संघमा करिब दुई दशकदेखि सक्रिय भूमिका निर्वाह गर्दै ३३औँ कार्यसमितिको नेतृत्वका क्रममा निजी क्षेत्रको हकहित, संरक्षण, प्रवर्द्धन तथा समग्र आर्थिक विकासका पक्षमा उल्लेखनीय योगदान दिएको बताए । उद्योगी–व्यवसायीका मुद्दामा निरन्तर सक्रिय र प्रभावकारी रूपमा आवाज उठाउँदै आएको उनको भूमिकाले निजी क्षेत्रलाई बलियो बनाएको राठीको भनाइ थियो ।

राठीले रिजालको अनुभव, कार्यकुशलता र परिणाममुखी नेतृत्वका कारण महासंघ र व्यापार समितिले सक्षम नेतृत्व पाएको उल्लेख गर्दै उनको भूमिकाले महासंघको गतिविधिलाई थप प्रभावकारी, गतिशील र सशक्त बनाउने विश्वास व्यक्त गरे । उनले रिजालको प्रतिनिधित्वले मोरङ उद्योग व्यापार संघको प्रतिष्ठासमेत उचो बनाएको बताए ।

रिजाल मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष हुन् । उनी यसपटक दोस्रो कार्यकालका लागि नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य बनेका छन् । व्यापार समितिको सभापतिमा उनको सहभागितालाई कोशी प्रदेशसहित पूर्वी नेपालको निजी क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा समेत हेरिएको छ ।