Breaking Nepal

विराटनगर / नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

भेटका क्रममा कांग्रेसको आन्तरिक राजनीतिक अवस्था, संगठन सुदृढीकरण तथा मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको घिमिरेले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय पार्टीभित्र देखिएका मतभेद र विवादलाई संवादमार्फत समाधान गर्दै संगठनलाई थप एकताबद्ध बनाउने विषयमा दुवै नेतासँग गम्भीर छलफल भएको थियो । पार्टीभित्रको सहकार्य र विश्वासलाई मजबुत बनाउँदै आगामी नियमित महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार सम्पन्न गर्ने विषय पनि छलफलको मुख्य एजेन्डा रहेको उनले बताए ।
घिमिरेले कांग्रेसलाई आन्तरिक रूपमा थप सुदृढ, संगठित र एकीकृत बनाउँदै आगामी राजनीतिक चुनौतीको सामना गर्न नेतृत्व तहबीच निरन्तर संवाद आवश्यक रहेको धारणा व्यक्त गरेका छन् ।