मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइन परीक्षणमा, असार २३ देखि विद्युत् प्रवाह

Breaking Nepal

बुधबार ,असार १७ , २०८३ १६:५५

दमौली । मर्स्याङ्दी करिडोरअन्तर्गतको मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनमा असार २३ गतेदेखि विद्युत् प्रवाह गरी परीक्षण सुरु गरिने भएको छ। राष्ट्रिय प्रसारण प्रणालीलाई थप सुदृढ बनाउने लक्ष्यसहित नेपाल विद्युत् प्राधिकरणले निर्माण सम्पन्न भएको उक्त खण्डमा परीक्षण सञ्चालन गर्न लागेको हो।

प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै असार २३ मंगलबारदेखि प्रसारण लाइनमा २२० केभी क्षमताको विद्युत् प्रवाह गरी परीक्षण गरिने जनाएको छ।

युरोपियन बैंकको ऋण सहयोग तथा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मार्कीचोक–भरतपुर खण्डको निर्माण सम्पन्न भइसकेको छ। आयोजना प्रमुख नारायण रेग्मीका अनुसार तनहुँको मार्कीचोकस्थित न्यू मर्स्याङ्दी सबस्टेसनदेखि चितवनको आँपटारीस्थित न्यू भरतपुर सबस्टेसनसम्म डबल सर्किट प्रसारण लाइनमार्फत विद्युत् प्रवाह गरी परीक्षण गरिनेछ।

प्राधिकरणले परीक्षण अवधिमा प्रसारण लाइन र त्यससँग सम्बन्धित संरचना उच्च भोल्टेजयुक्त रहने भएकाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। टावरमा नचढ्न, कुनै पनि वस्तुले प्रसारण लाइन वा संरचना नछुन, टावर वरपर अनावश्यक रूपमा नजान तथा चौपायालाई टावर आसपास चराउन वा छाड्न नदिन प्राधिकरणले अनुरोध गरेको छ।

यो प्रसारण लाइन तनहुँ, गोरखा र चितवनका विभिन्न क्षेत्र हुँदै गुज्रिएको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ३, ४ र ५, गोरखा नगरपालिका–१४ अन्तर्गत याङ्कोट तथा चितवनको भरतपुर महानगरपालिका–२९ को जुगेडी र चौकीडाँडा तथा इच्छाकामना गाउँपालिका–६ को रिग्दीखोला क्षेत्र प्रसारण लाइनको प्रभाव क्षेत्रमा पर्छन्।

मार्कीचोक–भरतपुर खण्डको निर्माणमा सुरुआती ठेक्का लिएको चिनियाँ कम्पनी पिङ्गाओ ग्रुप अफ कम्पनीले छनोट गरेको सब–कन्ट्र्याक्टरबाट काम समयमै सम्पन्न हुने अवस्था नदेखिएपछि निजी क्षेत्रका जलविद्युत् प्रवर्द्धकहरूले निर्माणको जिम्मेवारी आफैं लिएर आयोजना सम्पन्न गरेका हुन्। यससँगै लामो समयदेखि रोकिएको प्रसारण पूर्वाधार सञ्चालनतर्फ अघि बढेको छ।