Breaking Nepal

विराटनगर / विराटनगर–जोगबनी सीमा नाकाको तीन नम्बर ढाटतर्फ जाने सडकमा प्रशासनले सिक्री लगाएर आवागमन रोक लगाएपछि त्यसको विरोधमा स्थानीयवासी र व्यवसायी आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका क्रममा प्रदर्शनकारीले मुख्य प्रवेशद्वारका रूपमा प्रयोग हुँदै आएको एक नम्बर ढाटसमेत बन्द गरेपछि नेपाल–भारत सीमा नाकामा आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ ।
स्थानीय व्यवसायीका अनुसार तीन नम्बर ढाट हुँदै सञ्चालन हुँदै आएको आवागमन बन्द गरिएपछि त्यस आसपासका होटल, खुद्रा पसल, ढुवानी तथा अन्य साना व्यवसायमा प्रत्यक्ष असर परेको छ । व्यापार चौपट्ट भएको र जीविकोपार्जन नै संकटमा परेको भन्दै उनीहरूले प्रशासनको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।
विरोध प्रदर्शनका क्रममा स्थानीयले एक नम्बर ढाटमा पुगेर आवागमन रोकेपछि सीमा क्षेत्रमा केही समय तनावको अवस्था सिर्जना भएको थियो । प्रदर्शनकारीहरूले सीमा नाकामै नाराबाजी गर्दै तीन नम्बर ढाट तत्काल सञ्चालनमा ल्याउन र स्थानीयको रोजीरोटीमा असर पुग्ने निर्णय नगर्न प्रशासनसँग माग गरेका छन् ।
सीमा नाका बन्द भएसँगै नेपाल–भारतबीच दैनिक रूपमा हुने सर्वसाधारणको आवतजावत, साना व्यापारीको कारोबार तथा ढुवानी गतिविधिसमेत प्रभावित भएको छ । विशेषगरी दैनिक उपभोग्य वस्तु खरिद–बिक्रीका लागि सीमा पार गर्ने स्थानीय सर्वसाधारणलाई असहज भएको छ । प्रदर्शनकारीले एम्बुलेन्ससहितका अति आवश्यक सवारी साधनलाई भने आवतजावत गर्न दिएका छन् ।
प्रदर्शनलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अवस्था थप तनावपूर्ण हुन नदिन सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।
तीन नम्बर ढाट नखोलेसम्म आन्दोलन जारी राख्ने स्थानीयले बताएका छन् । उनीहरुले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको समेत ध्यानाकर्षण गराएका छन् ।