Breaking Nepal

काठमाडौं / सात कारोबार दिनसम्म लगातार ओरालो लागेको नेपाली सेयर बजारले पुनः सुधारको संकेत दिएको छ। बुधबार ४४ अंकले उकालो लागेको बजार बिहीबार पनि ८.७८ अंकले बढ्दै २,६६१ अंकमा पुगेको छ। दिनभर दबाबमा देखिएको बजार अन्तिम करिब ४५ मिनेटमा बैंकिङ समूहमा आएको खरिद चापका कारण हरियोमा बन्द भएको हो।
बजार उकालो लागेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो दिन ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ४ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
यद्यपि समग्र बजारमा अधिकांश कम्पनीको मूल्य घटेको छ। आज १०८ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो। ठूलो पूँजीकरण भएका वाणिज्य बैंकहरूको मूल्य उल्लेख्य रूपमा बढेकाले अधिकांश कम्पनी घट्दा पनि समग्र नेप्से सूचक हरियो रहन सफल भएको हो।
क्षेत्रगत सूचकतर्फ बैंकिङ समूह २.०४ प्रतिशतले बढ्दै सबैभन्दा उत्कृष्ट प्रदर्शनकर्ता बन्यो। फाइनान्स समूह ०.२८ प्रतिशत, जीवन बीमा ०.१६ प्रतिशत तथा माइक्रोफाइनान्स ०.०५ प्रतिशतले बढे।
यता विकास बैंक ०.११ प्रतिशत, होटल तथा पर्यटन ०.१३ प्रतिशत, जलविद्युत् ०.२६ प्रतिशत, लगानी ०.०३ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.८६ प्रतिशत, निर्जीवन बीमा ०.३४ प्रतिशत, अन्य समूह ०.२० प्रतिशत तथा व्यापार समूह ०.५० प्रतिशतले घटेका छन्।
व्यक्तिगत कम्पनीतर्फ कालंगा हाइड्रोपावर, स्नो रिभर फल्स हाइड्रोपावर, सानीगढ हाइड्रोपावर र अपर लोहोरेखोला जलविद्युत् कम्पनीको सेयर मूल्य १५ प्रतिशतका दरले बढेको छ। तीमध्ये तीन कम्पनी हालै मात्र दोस्रो बजारमा सूचीकृत भएका हुन्।
यस्तै धौलागिरि लघुवित्त १३.६७ प्रतिशत, आत्मनिर्भर लघुवित्त १०.०९ प्रतिशत तथा क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स ९.५३ प्रतिशतले उकालो लागे।
घट्ने कम्पनीतर्फ भुजुङ हाइड्रोपावर ९.४३ प्रतिशतले घट्दै शीर्षमा रह्यो। त्यसपछि सामुदायिक लघुवित्त ७.८३ प्रतिशत, सीवाईसी लघुवित्त ७.२३ प्रतिशत तथा कर्पोरेट डेभलपमेन्ट बैंक ५.५६ प्रतिशतले ओरालो लागे।
कारोबार रकमका आधारमा लक्ष्मी सनराइज बैंक, रिलायन्स स्पिनिङ मिल्स, नबिल बैंक, ग्लोबल आईएमई बैंक, आँखुखोला जलविद्युत् कम्पनी र साहस ऊर्जा सर्वाधिक कारोबार हुने कम्पनीमा परेका छन्।
लगातार दोस्रो दिनको सुधारसँगै बजारमा लगानीकर्ताको मनोबल केही बलियो बनेको देखिए पनि अधिकांश कम्पनीको मूल्य घटेकाले बजारको पुनरुत्थान अझै सीमित समूहका कम्पनीमा केन्द्रित रहेको विश्लेषण गरिएको छ।