भन्सार असन्तुलनले जोगबनीतर्फ उपभोक्ताको आकर्षण कायम, विराटनगरको व्यापार सुस्त

Breaking Nepal

pen
अनुज सापकोटा
बिहीबार ,असार १८ , २०८३ १७:५१

विराटनगर / सीमा क्षेत्रमा निगरानी र कडाइ बढाइएको सरकारी दाबीबीच पनि भारतीय बजार जोगबनीप्रति विराटनगरका उपभोक्ताको आकर्षण घटेको छैन । अत्यावश्यकदेखि दैनिक उपभोग्य वस्तुसम्म नेपालभन्दा भारतमा सस्तो पाइने भएकाले स्थानीय उपभोक्ता नियमित रूपमा जोगबनी पुग्ने क्रम यथावत् रहेको छ। यसको प्रत्यक्ष असर विराटनगरको खुद्रा व्यापारमा देखिन थालेको व्यवसायी बताउँछन्।

आइतबार सार्वजनिक बिदाका दिन विराटनगर बजार सुनसान देखिनु त्यसकै संकेत भएको स्थानीय व्यापारीको भनाइ छ। उपभोक्ताको ठूलो हिस्सा किनमेलका लागि जोगबनी गएको र त्यसले स्थानीय बजारमा कारोबार खुम्चिएको व्यवसायीहरूको गुनासो छ।

उद्योगी–व्यवसायीले लामो समयदेखि नेपाल–भारतबीचको मूल्य अन्तर घटाउन भन्सार दर पुनरावलोकन गर्न माग गर्दै आएका छन्। केही समयअघि तत्कालीन संघीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अत्यावश्यक वस्तुको भन्सार दर समायोजन गर्ने प्रस्ताव अघि सारे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन। परिणामस्वरूप भारतमा सस्तो पाइने अधिकांश वस्तु नेपालमा उल्लेख्य रूपमा महँगा पर्दा सीमावर्ती उपभोक्ता भारतीय बजारतर्फ आकर्षित भइरहेका छन्।

ग्रामथानकी कपिला राजवंशीले स्थानीय बजारभन्दा जोगबनीमा सामान सस्तो पर्ने भएकाले अधिकांश किनमेल उतैबाट गर्ने गरेको बताइन्। विराटनगर–११ की रश्मि खतिवडाले पनि स्थानीय बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य उच्च भएकाले छिमेकीसँग मिलेर बेलाबेला जोगबनी पुग्ने गरेको सुनाइन्। उनका अनुसार एउटै यात्रामा घुमफिर र किनमेल दुवै हुने भएकाले उपभोक्तालाई थप सहज भएको छ।

स्थानीय व्यापारी सुमित साहका अनुसार उपभोक्ता भारतीय बजारतर्फ आकर्षित भएपछि विराटनगरको व्यापार निरन्तर खस्कँदै गएको छ। व्यापारिक संघ–संस्थाले भन्सार दर समायोजनका विषयमा सरकारसमक्ष प्रभावकारी रूपमा आवाज उठाउन नसक्दा समस्या झन् जटिल बनेको उनको भनाइ छ।

सीमा क्षेत्रमा कडाइ गरिएको प्रचार गरिए पनि अवैध रूपमा सामान भित्रिने क्रम भने नरोकिएको व्यवसायीहरूको दाबी छ। कपडादेखि पान मसालासम्मका वस्तु अनधिकृत बाटोबाट नेपाल भित्रिने गरेको उनीहरू बताउँछन्। सीमापार सामान ओसारपसारमा संलग्न एक व्यक्तिले नाम उल्लेख नगर्ने सर्तमा ‘क्यारिङ’को गतिविधिमा कुनै उल्लेखनीय असर नपरेको दाबी गरे। उनका अनुसार अवैध कारोबारमा संलग्न विभिन्न तहका व्यक्तिको संलग्नता अन्त्य नगरेसम्म यस्तो गतिविधि रोक्न कठिन हुनेछ।

नेपाल उद्योग व्यापार संघका पूर्वअध्यक्ष नवीन रिजालले सीमावर्ती बजारको व्यापार जोगाउन अत्यावश्यक वस्तुको भन्सार दर तत्काल पुनरावलोकन गर्नुपर्ने बताए। उनका अनुसार मूल्य अन्तर कम गर्न सके मात्र नेपाली उपभोक्ताको जोगबनी निर्भरता घट्नेछ। उनले सीमा नाका प्रयोग गर्ने नागरिकको अभिलेख व्यवस्थित राख्ने व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरे।

व्यवसायीहरूका अनुसार भन्सार संरचनामा सुधार, सीमा व्यवस्थापन प्रभावकारी र बजार अनुगमन कडा बनाउन नसकिएसम्म सीमावर्ती नेपाली बजारबाट उपभोक्ता पलायन हुने क्रम रोकिने सम्भावना न्यून छ।