बजारमा २५ अर्बको राष्ट्र बैंक ऋणपत्र आउँदै, बैंक तथा वित्तीय संस्थालाई अवसर

Breaking Nepal

शुक्रबार ,असार १९ , २०८३ १३:२८

काठमाडौं। वित्तीय प्रणालीको तरलता व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ऋणपत्र निष्कासन गर्ने भएको छ। मौद्रिक व्यवस्थापन विभागले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘ग’’ शीर्षकमा उक्त ऋणपत्र जारी गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल र निष्कासन प्रक्रिया शुक्रबार नै सञ्चालन हुनेछ। अनलाइन बिडिङ सिस्टममार्फत हुने बोलकबोल दिउँसो ३ बजेसम्म खुला रहनेछ।

एक वर्षे अवधिको यो ऋणपत्रको साँवा २०८४ असार १९ गते फिर्ता गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ। ऋणपत्रको ब्याजदर भने प्रतिस्पर्धात्मक बोलकबोलबाट निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ।

बोलकबोल प्रक्रियामा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। न्यूनतम ५ करोड रुपैयाँदेखि ५ करोड रुपैयाँकै गुणकमा कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

लगानीकर्ताले एकल वा बहु–ब्याजदरमा बोलकबोल गर्न सक्ने भए पनि अन्तिम बाँडफाँट एकल ब्याजदरका आधारमा हुनेछ। स्वीकृत ब्याजदर वा सोभन्दा कम दरमा आवेदन दिने संस्थालाई प्राथमिकता दिइनेछ। मागभन्दा बढी आवेदन परेमा ऋणपत्र समानुपातिक आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।

यो ऋणपत्र नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ। यद्यपि, यसमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न नमिल्नेछ। भने वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपात (एनएलए) गणनामा समावेश गर्न सकिने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले स्वीकृत बोलकबोलअनुसार खातामा पर्याप्त मौज्दात नराख्ने संस्थालाई स्वीकृत रकमको २.५ प्रतिशत जरिवाना लाग्ने र आगामी ६ महिनासम्म खुला बजार कारोबारमा सहभागी हुन नपाउने चेतावनी दिएको छ। साथै, ऋणपत्रको परिपक्व अवधि पूरा हुनुअघि साँवा भुक्तानी नहुने व्यवस्था पनि यथावत् रहनेछ।