पाल्पाबाट दालचिनी–तेजपात निर्यात उछाल, छ वर्षयताकै उच्च स्तरमा भारत निकासी

Breaking Nepal

शुक्रबार ,असार १९ , २०८३ १४:००

तानसेन। पाल्पाबाट चालु आर्थिक वर्षमा दालचिनी र तेजपातको भारततर्फ निर्यात उल्लेख्य रूपमा वृद्धि भएको छ। डिभिजन वन कार्यालय, पाल्पाका अनुसार दालचिनी निर्यात पछिल्ला छ वर्षयताकै उच्च स्तरमा पुगेको छ।

कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा ३ लाख ४७ हजार ९६९ किलो दालचिनी भारत निर्यात भएको छ। यो परिमाण पछिल्ला वर्षहरूको तुलनामा सबैभन्दा उच्च हो। आर्थिक वर्ष २०७७/७८ मा १ लाख ९१ हजार ४१५ किलो दालचिनी निर्यात भएको थियो।

त्यस्तै, चालु आर्थिक वर्षमा तेजपात निर्यात पनि उल्लेख्य रूपमा बढेको छ। डिभिजन वन कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङका अनुसार यस वर्ष १२ लाख ८८ हजार ४८२ किलो तेजपात भारत पठाइएको छ।

पछिल्ला वर्षहरूमा तेजपात निर्यात क्रमशः बढ्दै गएको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ मा ८ लाख ८१ हजार ७३१ किलो, २०७९/८० मा ७ लाख ६ हजार ७९० किलो तेजपात निर्यात भएको थियो।

त्यसैगरी, दालचिनी निर्यात पनि उतारचढावबीच निरन्तर उच्च स्तरमा रहेको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ मा १ लाख ७६ हजार ६९७ किलो, २०७९/८० मा १ लाख ८३ हजार ५९० किलो, २०७८/७९ मा १ लाख ९० हजार २१४ किलो र २०७७/७८ मा १ लाख ९१ हजार ४१५ किलो दालचिनी भारत पठाइएको तथ्यांक छ।

पाल्पामा उत्पादन हुने दालचिनी र तेजपातको प्रमुख बजार भारत नै रहेको छ। स्थानीय स्तरमा यी वनजन्य उत्पादन ग्रामीण आम्दानीको प्रमुख स्रोत बन्दै गएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ।

कार्यालय प्रमुख मोहन श्रेष्ठका अनुसार किसानले तेजपात प्रतिकिलो ५० देखि ६० रुपैयाँ र दालचिनी करिब १०० रुपैयाँमा बिक्री गर्दै आएका छन्। उत्पादन विस्तार र बजार पहुँच सुधार गर्न सके स्थानीय आय वृद्धि हुनुका साथै जिल्लाको वनजन्य निर्यात अझ मजबुत हुने अपेक्षा गरिएको छ।