सरकारको काम जनताले महसुस गर्न नसकेको हर्क साम्पाङको टिप्पणी, महँगीदेखि ट्राफिक जरिवानासम्म आलोचना

Breaking Nepal

शुक्रबार ,असार १९ , २०८३ १४:२९

काठमाडौं। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान सरकारले गरेका प्रयास जनताले प्रत्यक्ष रूपमा महसुस गर्न नसकेको टिप्पणी गरेका छन्।

दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गेपुल उद्घाटनपछि शुक्रबार काठमाडौं फर्कने क्रममा त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै साम्पाङले बजार महँगी नियन्त्रण लगायतका क्षेत्रमा सरकार सक्रिय भए पनि त्यसको प्रभाव जनस्तरसम्म नपुगेको दाबी गरे।

उनले सरकारले गरेका सकारात्मक तथा नकारात्मक दुवै पक्षको जिम्मेवारी लिनुपर्ने धारणा राखे। लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता अनिवार्य हुने भन्दै त्यसलाई संकुचित गर्ने खालका कानुन ल्याउन नहुने बताए।

साम्पाङले मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ जोड दिँदै मल आयातभन्दा स्वदेशमै उत्पादन प्रणाली विकास गर्नुपर्ने आवश्यकता औंल्याए।

त्यसैगरी, ट्राफिक जरिवाना प्रणालीप्रति आपत्ति जनाउँदै उनले १ लाख रुपैयाँसम्मको जरिवाना अस्वाभाविक भएको टिप्पणी गरे। जरिवाना दण्डभन्दा पनि सुधारको माध्यम हुनुपर्ने भन्दै ऋण काढेर जरिवाना तिर्नुपर्ने अवस्था न्यायोचित नहुने उनको भनाइ थियो।