कञ्चनपुर ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा, ८ हजारभन्दा बढी बालबालिका नियमित खोपको पहुँचमा

Breaking Nepal

बिहीबार ,असार २५ , २०८३ ०८:५८

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको छ। राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जिल्लाका सबै स्थानीय तहमा लक्षित बालबालिकालाई नियमित तथा छुट खोपको पहुँचमा ल्याएपछि उक्त घोषणा गरिएको हो।

जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले घोषणा गर्दै खोप कार्यक्रम बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने रोगबाट जोगाउने प्रभावकारी माध्यम भएको बताए। उनले पूर्ण खोप सुनिश्चितता कायम राख्दै आगामी दिनमा नियमित खोप सेवाको दिगोपनामा विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

स्वास्थ्य कार्यालय कञ्चनपुरका अधिकृत जनक कुँवरका अनुसार जिल्लाभर सञ्चालनमा रहेका १६८ खोप केन्द्रमार्फत शून्यदेखि १५ महिनासम्मका आठ हजार ६३७ बालबालिकालाई नियमित खोप सेवा प्रदान गरिएको छ।

उनका अनुसार विगतमा खोप लगाउन छुटेका १३८ बालबालिकालाई पनि बिसिजी, ओपिभी, पिसिभी, रोटा, एफआइपिभी तथा दादुरा–रुबेलालगायत आवश्यक खोप लगाइएको छ।

त्यस्तै, जन्मदेखि ११ महिनासम्मका सात हजार ९८८, ११ देखि २३ महिनासम्मका सात हजार ८७७ बालबालिका तथा नौ हजार ४२७ गर्भवतीले लक्षित खोप सेवा प्राप्त गरेका छन्।

घोषणा कार्यक्रममा खोप अभियान सफल बनाउन योगदान पुर्‍याएका विभिन्न पालिकाका खोप सहजकर्ता, स्वास्थ्यकर्मी तथा सरोकारवालालाई सम्मानसमेत गरिएको थियो।