Breaking Nepal

विराटनगर / मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा पछिल्लो समय बढ्दै गएको अघोषित लोडसेडिङ, बारम्बारको ट्रिपिङ र न्यून भोल्टेजका कारण उद्योगहरू गम्भीर संकटमा परेको भन्दै मोरङ उद्योग व्यापार संघले तत्काल समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरणसँग माग गरेको छ ।
संघले अध्यक्ष अनुपम राठीले जारी गरेको विज्ञप्तिमा वर्षायाममा समेत विद्युत आपूर्ति नियमित हुन नसक्दा उद्योगहरूको उत्पादन प्रणाली नै प्रभावित बनेको जनाइएको छ । पूर्वसूचनाविनै दैनिक रूपमा विद्युत अवरुद्ध हुने, पटक–पटक ट्रिपिङ हुने तथा न्यून भोल्टेजको समस्या दोहोरिँदा उद्योग सञ्चालनमा ठूलो अवरोध सिर्जना भएको संघको भनाइ छ ।
संघका अनुसार विद्युत आपूर्तिको अस्थिरताका कारण उद्योगमा जडान गरिएका करोडौँ रुपैयाँ मूल्यका आधुनिक मेसिन, इलेक्ट्रोनिक प्यानल, पार्टपुर्जा तथा सफ्टवेयर प्रणालीमा क्षति पुग्ने क्रम बढेको छ । यसले उद्योगीहरूलाई मर्मतसम्भारमा ठूलो अतिरिक्त खर्च व्यहोर्न बाध्य बनाएको छ ।
विशेषगरी प्लास्टिक, स्टिल, सिमेन्ट, खाद्य तथा रासायनिक उद्योगमा उत्पादन प्रक्रियाकै बीचमा विद्युत आपूर्ति अवरुद्ध हुँदा मेसिनभित्र रहेका कच्चा पदार्थ नष्ट हुने, उत्पादन खेर जाने र उद्योगहरूले ठूलो आर्थिक नोक्सानी बेहोर्नुपरेको संघले जनाएको छ ।
संघका अनुसार विद्युत आपूर्ति अनियमित हुँदा हजारौँ श्रमिक घण्टौँसम्म कामविहीन बस्नुपर्ने अवस्था सिर्जना भएको छ । उत्पादन अवरुद्ध भए पनि पारिश्रमिक, सञ्चालन खर्च तथा अन्य स्थायी दायित्व भने यथावत् रहने भएकाले उद्योगहरूको उत्पादन लागत उल्लेख्य रूपमा बढिरहेको संघको दाबी छ ।
उत्पादन समयमै हुन नसक्दा बजारमा वस्तुको अभाव सिर्जना हुने, ग्राहकको माग पूरा गर्न नसक्ने अवस्था आउने तथा स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता कमजोर बन्दै गएको संघले उल्लेख गरेको छ । यसले आयातित वस्तुलाई बजार विस्तार गर्ने अवसर समेत प्रदान गरिरहेको संघको निष्कर्ष छ ।
देशको आर्थिक गतिविधिको प्रमुख आधार मानिने औद्योगिक क्षेत्रलाई पूर्वतयारी र सूचनाबिनै बारम्बार विद्युत अवरोधमा राख्नु गैरजिम्मेवारपूर्ण भएको संघले जनाएको छ । उद्योगीहरूको समस्या समाधानमा सम्बन्धित निकायले आवश्यक गम्भीरता नदेखाएको भन्दै संघले असन्तुष्टि व्यक्त गरेको छ ।
संघका अध्यक्ष राठीले मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा देखिएको अघोषित लोडसेडिङ, ट्रिपिङ तथा न्यून भोल्टेजको समस्या तत्काल अन्त्य गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। साथै, प्राविधिक कारणले विद्युत आपूर्ति अवरुद्ध गर्नुपर्ने अवस्था आएमा उद्योग तथा व्यवसायीलाई अनिवार्य रूपमा पूर्वसूचना उपलब्ध गराउने व्यवस्था गर्न र औद्योगिक उत्पादनको संरक्षणका लागि प्रभावकारी पहल गर्न उनले आग्रह गरेका छन ्।