Breaking Nepal

काठमाडौं / राहदानी विभागले सेवा प्रवाहलाई नयाँ डिजिटल प्रणालीमा रूपान्तरण (माइग्रेसन) गर्ने तयारीस्वरूप आजदेखि दुई दिन राहदानीसम्बन्धी नियमित सेवा स्थगित गरेको छ ।
विभागका अनुसार हाल सञ्चालनमा रहेको राहदानी व्यवस्थापन प्रणालीलाई नयाँ प्रणालीमा स्थानान्तरण गरिने भएकाले आज र भोलि राहदानीसम्बन्धी सबै नियमित सेवा बन्द रहनेछन् । यसअघि विभागले असार १९ गते सार्वजनिक सूचना जारी गर्दै प्रणाली परिवर्तनका कारण दुई दिन सेवा अवरुद्ध हुने जानकारी गराएको थियो ।
यद्यपि, यस अवधिमा विभागमा तयारी अवस्थामा रहेका राहदानीको वितरण कार्य भने नियमित रूपमा सञ्चालन गरिने विभागले जनाएको छ ।
मोबाइलमा राहदानी संकलनका लागि एसएमएस प्राप्त गरिसकेका सेवाग्राहीले विभागमा उपस्थित भई आफ्नो राहदानी बुझ्न सक्ने व्यवस्था यथावत् रहने विभागले स्पष्ट पारेको छ ।
विभागले नयाँ प्रणाली कार्यान्वयनसँगै सेवा प्रवाहलाई थप सुरक्षित, प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने लक्ष्य राखिएको जनाएको छ। साथै, सेवाग्राहीलाई प्रणाली रूपान्तरणको अवधिमा आवश्यक सहकार्य र धैर्य अपनाउन पनि आग्रह गरेको छ ।