Breaking Nepal

एजेन्सी– दक्षिणी चीनको गुआङ्सी क्षेत्रमा आएको भीषण बाढीले ठूलो मानवीय क्षति पुर्याएको छ। सरकारी सञ्चारमाध्यमका अनुसार बाढीका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ भने नौ जना अझै बेपत्ता छन्।
दक्षिणी तथा मध्य चीनमा केही दिनयता परेको अविरल वर्षाले व्यापक बाढी र डुबान निम्त्याएको छ। गुआङ्सी क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको छ। यसैबीच ‘बावी’ नाम दिइएको आँधी पूर्वी चीनतर्फ अघि बढिरहेको जनाइएको छ, जसले थप वर्षा र जोखिम बढाउने अनुमान गरिएको छ।
चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार लिउलन जलाशयको बाँध भत्किएपछि आएको आकस्मिक बाढीमा मात्रै २६ जनाको मृत्यु भएको छ। सो क्षेत्रमा अझै सात जना सम्पर्कविहीन रहेको बताइएको छ।
बाढीका कारण सडक र पुल अवरुद्ध भएपछि उद्धार कार्य चुनौतीपूर्ण बनेको छ। प्रभावित क्षेत्रमा फसेका नागरिकलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री पुर्याउन ठूलो क्षमताका ड्रोन प्रयोग गरिएको छ भने जलाशयबाट बगेको पानी अझै उच्च बहावमै रहेको जनाइएको छ।
सरकारी टेलिभिजन सिसिटिभीले सार्वजनिक गरेको दृश्यमा बाँधको कंक्रीट संरचना भत्किएर तीव्र गतिमा पानी बगिरहेको देखिन्छ। उद्धार तथा खोजी अभियानका लागि सुरक्षाकर्मी र उद्धार टोली डुङ्गासहित परिचालन गरिएको छ।
उता, प्रभावित बस्तीमा बाढीको पानी घट्न थालेपछि स्थानीय बासिन्दा घर फर्किएर क्षतिको मूल्यांकन र सरसफाइमा जुटेका छन्। धेरैले उत्खनन उपकरणको सहायताले भग्नावशेष हटाउँदै घरायसी सामग्री निकाल्ने प्रयास गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
© 2026 Breaking Nepal. All Rights Reserved | Powered By: InDesign Media Pvt. Ltd.






