विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन, तीन देशका विज्ञ जुट्दै

Breaking Nepal

बिहीबार ,असार २५ , २०८३ १४:०४

विराटनगर / मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल (बीएमसीटीएच) मा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन आयोजना हुने भएको छ ।

न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ क्षेत्रमा अन्तर्राष्ट्रिय अनुभव, प्रविधि र अनुसन्धान आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा नेपाल, भारत र बंगलादेशका प्रतिष्ठित विशेषज्ञ चिकित्सक सहभागी हुनेछन् ।

हस्पिटलको न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागद्वारा आयोजित ‘इन्टरनेशनल कन्फरेन्स अन न्यूक्लियर मेडिसिन–बीएमसीटीएच’ आगामी असार २७ गते शनिबार हस्पिटलको सेन्ट्रल हलमा सञ्चालन हुनेछ । ‘इमेजिङ टुडे, इम्प्याक्टिङ टुमरो’ नारासहित हुने सम्मेलनमा मोलिक्युलर इमेजिङ, थेरानोस्टिक्स, रेडियोआइसोटोप थेरापी तथा क्यान्सर उपचारमा विकसित अत्याधुनिक प्रविधिबारे विस्तृत छलफल हुनेछ ।

सम्मेलनमा बंगलादेशबाट प्रा. डा. मिजानुल हसन, डा. मोल्ला अब्दुल वहम, प्रा. डा. सनोवार हुसैन, प्रा. डा. फारिया नर्सिन र प्रा. डा. जास्मिन आरा हक सहभागी हुनेछन् । भारतको राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टर (आरजीसीआईआरसी), नयाँ दिल्लीबाट प्रा. डा. मनोज गुप्ता सहभागी हुने कार्यक्रम छ । नेपालका तर्फबाट बीएमसीटीएचका डा. अमरदीप चौधरीसहित डा. सुमन श्रेष्ठ, डा. सागर महर्जन र डा. सुधीर केसीले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

बीएमसीटीएचले पूर्वी नेपालमै पहिलोपटक न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभाग सञ्चालनमा ल्याइसकेको छ । विभाग प्रमुख डा. अमरदीप चौधरीका अनुसार न्यूक्लियर मेडिसिनले क्यान्सरलगायत जटिल रोगको प्रारम्भिक पहिचान, रोगको फैलावट मूल्याङ्कन र लक्षित उपचारमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । हस्पिटलले पेटभित्र फैलिने क्यान्सरको उपचारका लागि आवश्यक ‘हाइपेक’ सेवा पनि पूर्वी नेपालमै पहिलोपटक सञ्चालनमा ल्याएको जनाएको छ ।

न्यूक्लियर मेडिसिन आधुनिक चिकित्साशास्त्रको यस्तो विधा हो, जसमा रेडियोएक्टिभ पदार्थको प्रयोगमार्फत शरीरका विभिन्न अंगको कार्यसम्पादनको सूक्ष्म अध्ययन गरिन्छ । यस प्रविधिबाट क्यान्सरको प्रारम्भिक निदान, हृदयमा रक्तप्रवाहको परीक्षण, हड्डीसम्बन्धी रोगको पहिचान तथा थाइरोइडलगायतका रोगको प्रभावकारी परीक्षण सम्भव हुन्छ। मोलिक्युलर इमेजिङले कोशिकास्तरमै हुने परिवर्तन पहिचान गर्ने भएकाले रोग प्रारम्भिक अवस्थामै पत्ता लगाउन सहयोग पुग्ने चिकित्सकहरूको भनाइ छ ।

हस्पिटलका अनुसार सम्मेलनले पूर्वी नेपालका स्वास्थ्यकर्मीलाई अन्तर्राष्ट्रिय विशेषज्ञसँग प्रत्यक्ष ज्ञान आदानप्रदान गर्ने अवसर उपलब्ध गराउनेछ। यसबाट अत्याधुनिक प्रविधि र उपचार पद्धति स्थानीय स्तरमै विस्तार हुने, उपचार सेवाको गुणस्तर अभिवृद्धि हुने तथा क्यान्सरलगायत जटिल रोगका बिरामीलाई काठमाडौं वा विदेश जानुपर्ने बाध्यता क्रमशः घट्ने अपेक्षा गरिएको छ ।

दीर्घकालीन रूपमा अन्तर्राष्ट्रिय विशेषज्ञसँग सहकार्य, जटिल बिरामी व्यवस्थापन तथा रेफरल प्रणाली विकासमा समेत सम्मेलनले सकारात्मक योगदान पुर्‍याउने विश्वास आयोजकको छ ।

सम्मेलनमा काठमाडौं, पोखरा, चितवन, झापा, सुनसरी, मोरङलगायत देशका विभिन्न जिल्लाबाट चिकित्सक, स्वास्थ्यकर्मी तथा सम्बन्धित क्षेत्रका करिब २५० भन्दा बढी सहभागी रहने जनाइएको छ ।

हाल बीएमसीटीएचको न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागले क्यान्सरको प्रारम्भिक निदान, रोगको फैलावट मूल्याङ्कन, हृदयको रक्तप्रवाह परीक्षण, हड्डी तथा संक्रमणजन्य रोगको पहिचान, मिर्गौला, कलेजो र फोक्सोको कार्यक्षमता परीक्षण तथा थाइरोइडसम्बन्धी रोगको निदान सेवा प्रदान गर्दै आएको छ ।

उपचारतर्फ विभागले रेडियोएक्टिभ आयोडिनमार्फत थाइरोइड क्यान्सरको उपचार, हड्डीको दुखाइ कम गर्ने रेडियोन्यूक्लाइड थेरापी, न्यूरोएन्डोक्राइन ट्युमरको लक्षित उपचार तथा रेडियोसिनोभेक्टोमीजस्ता अत्याधुनिक सेवा सञ्चालन गरिरहेको जनाएको छ । यी सेवाले जटिल रोगको उपचारलाई थप प्रभावकारी, सुरक्षित र परिणाममुखी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।