कोशी उद्योग वाणिज्य महासंघमा व्यापक कार्यविभाजन, १५ विषयगत समिति गठन

Breaking Nepal

शुक्रबार ,असार २६ , २०८३ १७:३८

विराटनगर / नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशले आफ्ना गतिविधिलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने उद्देश्यसहित व्यापक कार्यविभाजन गर्दै १५ वटा विषयगत समिति गठन गरेको छ । साथै, कार्यसमितिमा दुई जना आमन्त्रित सदस्य थप गर्नुका साथै विभिन्न क्षेत्रका विज्ञहरूलाई समेटेर सल्लाहकार समिति पनि गठन गरिएको छ ।

महासंघका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले संस्थागत कार्यसम्पादनलाई चुस्त, द्रुत र प्रभावकारी बनाउने लक्ष्यका साथ विषयगत समितिका सभापतिहरूलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले उद्योग तथा व्यापारसँग सम्बन्धित विभिन्न क्षेत्रलाई समेट्दै उद्योग वाणिज्य परिषदको सभापतिमा ऋषिराज तिम्सिना, वस्तुगत समन्वय समितिमा राजन श्रेष्ठ, रोजगारदाता परिषदमा रविन दाहाल तथा बैंक, वित्त, बिमा तथा पुँजीबजार समितिमा सुवास आचार्यलाई जिम्मेवारी दिएको छ ।

त्यसैगरी कर तथा राजस्व समितिको सभापतिमा देवकीनन्दन अग्रवाल, पर्यटन तथा हवाई यातायात समितिमा भविषकुमार श्रेष्ठ, महिला उद्यम विकास समितिमा कृति श्रेष्ठ उपाध्याय, व्यापार मेला समितिमा कृष्णप्रसाद रिजाल तथा घरेलु तथा साना उद्योग समितिमा जयप्रकाश शर्मालाई चयन गरिएको छ ।

यसैगरी आयात–निर्यात समितिको नेतृत्व निर्मल भट्टराई, सामाजिक विकास समितिको नेतृत्व नवीन चौधरी, स्थल यातायात तथा पारवहन समितिको नेतृत्व मेघराज सिग्देल, सूचना तथा सञ्चार प्रविधि समितिको नेतृत्व विजय सन्तोषी राई, स्थानीय निकाय समन्वय समितिको नेतृत्व अंशु बन्जारा तथा स्वास्थ्य तथा सीप विकास समितिको नेतृत्व तरुण संचेतीले गर्नेछन् ।

महासंघले कार्यसमितिमा सुन्दरदुलारी उद्योग वाणिज्य संघका अध्यक्ष रमेश थापा तथा झापा उद्योग संघका कृषि उपाध्यक्ष विनय गोयललाई आमन्त्रित सदस्यका रूपमा मनोनयन गरेको    छ ।

नीतिगत सुधार, संस्थागत विकास तथा विभिन्न क्षेत्रगत अनुभवलाई महासंघको निर्णय प्रक्रियामा उपयोग गर्ने उद्देश्यले छुट्टाछुट्टै विषयगत सल्लाहकार समिति पनि गठन गरिएको छ । यसअन्तर्गत पूर्व केन्द्रीय सदस्य अविनाश बोहरा, पूर्व अध्यक्ष नरेन्द्रकुमार खड्का, पूर्व केन्द्रीय सदस्य तारानाथ घिमिरे, पूर्व उपाध्यक्ष कुमारमणि पोखरेल, पूर्व राजदूत तापस अधिकारी, पूर्व भन्सार प्रशासक श्याम दाहाल, चार्टर्ड एकाउन्टेन्ट सुरज तिम्सिना तथा अधिवक्ता विकास थापालाई सम्बन्धित क्षेत्रका सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

महासंघका अनुसार नयाँ कार्यविभाजन र समितिहरूको गठनले प्रदेशस्तरका उद्योग, व्यापार, लगानी, पर्यटन, वित्त, कर, पूर्वाधार तथा नीतिगत सुधारसँग सम्बन्धित विषयमा संस्थागत सक्रियता बढाउनुका साथै निजी क्षेत्रका साझा मुद्दालाई प्रभावकारी रूपमा उठाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।