लागूऔषध सेवन गरेर सिटी सफारी चलाउने ९ चालक पक्राउ

Breaking Nepal

मंगलबार ,असार ३० , २०८३ १९:५०

विराटनगर / सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले मोरङ प्रहरीले सञ्चालन गरेको विशेष अभियानमा लागूऔषध सेवन गरेर सवारी चलाइरहेका ९ जना सिटी सफारी चालक र एक जना मोटरसाइकल चालक नियन्त्रणमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ र लागूऔषध नियन्त्रण ब्युरो कोशी प्रदेशको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१६ स्थित सामुदायिक सेवा केन्द्र परिसरमा सार्वजनिक सवारी चालकहरूको विशेष चेकजाँच गरेको थियो ।

अभियानका क्रममा ३० जना सिटी सफारी चालकको लागूऔषध परीक्षण किटमार्फत परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ९ जना सिटी सफारी चालक र एक जना मोटरसाइकल चालकमा लागूऔषध सेवन गरेको पुष्टि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीले लागूऔषध सेवन गरेको पुष्टि भएका चालकले चलाइरहेका ९ वटा सिटी सफारी र एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । पक्राउ परेका १० जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालका अनुसार उनीहरूमाथि लागूऔषध सम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ ।

प्रहरीका अनुसार सार्वजनिक सवारी चालकले लागूऔषध सेवन गरेर सवारी चलाउँदा यात्रुको ज्यान प्रत्यक्ष जोखिममा पर्ने, सडक दुर्घटनाको सम्भावना बढ्ने तथा सार्वजनिक सुरक्षामा गम्भीर चुनौती सिर्जना हुने भएकाले यस्ता निगरानी तथा परीक्षण अभियानलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा निरन्तर सञ्चालन गरिनेछ ।