सिंघिया खोलामा पुरुषको शव फेला, पहिचान खुलाउने प्रयास जारी

Breaking Nepal

मंगलबार ,असार ३० , २०८३ २०:१३

विराटनगर / मोरङको जहदा गाउँपालिका–३ र विराटनगर महानगरपालिका–१४ को सिमानामा पर्ने सिंघिया खोलाबाट मंगलबार साँझ एक अज्ञात पुरुषको शव फेला परेको छ ।

स्थानीयले खोलामा शव बगेर आएको देखेपछि साँझ करिब ५ बजे प्रहरीलाई जानकारी गराएका थिए । सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय रानीबाट इन्स्पेक्टर प्रवीण घिमिरेको नेतृत्वमा खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव खोलाबाट बाहिर निकालेको छ । अन्दाजी ३० देखि ३५ वर्ष उमेरका पुरुषको शव पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको छ ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन । शवको सनाखतका लागि आवश्यक विवरण सम्बन्धित निकायमा पठाइएको र मृतकको पहिचान खुलाउने प्रयास भइरहेको उनले बताए ।

घटनाको कारण र मृतकको परिचय खुलाउने विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।